पाल्पाको चिउरीवासमा जिप दुर्घटना, ३ जनाको मृत्यु, ८ घाइते
पाल्पा। पाल्पाको निस्दी गाउँपालिका-४, चिउरीवासमा आज शुक्रबार जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।
निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले दुर्घटनामा जिपमा सवार तीन जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनका अनुसार, मृतक तीनै जना महिलाको पहिचान खुल्न सकेको छैन।
दुर्घटनामा परेर आठ जना घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल पूर्वी नवलपरासी पठाइएको सूचना अधिकारी चौधरीले जानकारी दिए। दुर्घटनाको कारण भने हालसम्म खुल्न सकेको छैन र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
