शिक्षकको सम्मान : ३६ वर्ष पढाएका प्रअलाई विद्यार्थीले हेलिकप्टर चढाएर बिदाइ गरे

काठमाडौं । गोरखाको धार्चे गाउँपालिका-२, रुन्चेतस्थित गण्डकी माध्यमिक विद्यालयका सेवा निवृत्त प्रधानाध्यापक इन्द्रबहादुर उपरकोटीलाई विद्यार्थी, अभिभावक र स्थानीयले हेलिकप्टर चढाएर भव्य बिदाइ गरेका छन्।

५७ वर्षीय प्रधानाध्यापक उपरकोटीले विद्यालयमा निरन्तर ३६ वर्ष ८ महिना २२ दिन सेवा गरेका थिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रताप गुरुङका अनुसार उनले २०४५ सालमा विद्यालय स्थापना भएदेखि नै प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका थिए।

गणित र अंग्रेजीका शिक्षक उपरकोटीको योगदानको सम्मान गर्दै पूर्व विद्यार्थीहरूले चन्दा सङ्कलन गरेर उक्त बिदाइ कार्यक्रमको आयोजना गरेका हुन्। हेलिकप्टर भाडाका लागि मात्रै २ लाख ५ हजार रुपैयाँ खर्च गरिएको वडाध्यक्ष सरोज गुरुङले जानकारी दिए।

१९ वर्षको उमेरदेखि ५७ वर्षसम्म एउटै विद्यालयलाई दिएको योगदानको कदरस्वरूप उनलाई हेलिकप्टरमा उडाएर बिदाइ गरिएको हो।

चितवनसम्मको यात्रा पुर्खौली घर गोरखा भए पनि पछिल्लो समय चितवनको भरतपुरमा बसोबास गर्दै आएका प्रधानाध्यापक उपरकोटीलाई विद्यालयबाट हेलिकप्टरमार्फत काठमाडौँसम्म पुर्‍याइएको थियो। त्यसपछि उनलाई विमानमार्फत चितवनस्थित घर पठाइएको छ। (केटिभी)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *