उदयपुर र तेह्रथुममा दुर्घटना : दुई जनाको मृत्यु
विराटनगर । कोशी प्रदेशका तेह्रथुम र उदयपुरमा मंगलबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
उदयपुरको चौदण्डीगढी नगरपालिका–४ थुलुङडाँडामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा चौदण्डीगढी-४ का अन्दाजी ५८ वर्षीय भक्तराम राईको मृत्यु भएको छ। गम्भीर घाइते भएका राईलाई नगर अस्पताल बेलटार पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरीको प्रारम्भिक अनुसन्धानले तीव्र गतिका कारण दुर्घटना भएको देखाएको छ। प्रहरीले अर्को मोटरसाइकलका चालक एमन मगरलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
तेह्रथुमको म्याङलुङ नगरपालिका–४ पिप्लेस्थित सल्लेरी भिरबाट ट्याक्टर खस्दा म्याङलुङ–१० का १७ वर्षीय चालक शेरबहादुर पुर्कुटीको मृत्यु भएको छ। प्रहरीका अनुसार ट्याक्टर सडकबाट करिब ५०० मिटर तल खसेको थियो। घटनाको सीसीटीभी फुटेजमा पुर्कुटी आफैंले ट्याक्टर चलाएको र अनियन्त्रित भई खसेको देखिएको प्रहरीले जनाएको छ। पुर्कुटीसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) थिएन।
