पाथीभरामा १० महिनामा ३६ क्विन्टल सिक्का भेटी
विराटनगर। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरमा पछिल्लो १० महिनाको अवधिमा ३६ क्विन्टल (३,६०० किलो) सिक्का भेटी सङ्कलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिले हाल संकलित भेटी गणनाको कार्य सुरु गरेको छ।
समितिका कर्मचारीहरूले अबिरलगायतका फोहोर लागेको सिक्कालाई उपकरणको सहायताले धोएर, घाममा सुकाएर गणना गर्ने गरेका छन्। समितिले जनाएअनुसार, मौसम सफा भएको दिनमा करिब एक क्विन्टल सिक्का गणना गर्न सकिने अवस्था छ।
पाथीभरामा नेपालका मात्र नभई भारतलगायतका अन्य मुलुकका सिक्कासमेत दर्शनार्थीले चढाउने गरेका छन्। अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा करिब १५ लाख रुपियाँभन्दा बढीको सिक्का मात्र पाथीभरामा सङ्कलन भएको थियो।
नगद भेटी गणनाको कार्य सम्पन्न हुनासाथ समितिले सिक्का गणनाको कार्य थालनी गरेको हो। भेटी गणनाका लागि समितिले ८ जना कर्मचारी परिचालन गरेको छ। मन्दिरबाट कर्मचारीले भेटी सङ्कलन गरी हरेक दिन माथिल्लो फेदीमा भण्डारण गर्ने गरेका छन्।
समितिका अनुसार, यहाँबाट सिक्का गणना गरी विभिन्न बैंक तथा जिल्ला बाहिरका ठुल्ठूला डिपार्टमेन्ट स्टोरहरूमा सटही गरिँदै आएको छ। भारतलगायतका मुलुकका सिक्का तथा नोट सटहीमा भने समितिलाई सकस परिरहेको बताइएको छ।
