भ्रष्टाचार मुद्दा : क्यान महानिर्देशक अधिकारी पुर्पक्षका लागि थुनामा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीलाई भ्रष्टाचार मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ। विशेष अदालतका न्यायाधीशत्रय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले भक्तपुर नलिन्चोकमा हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको मुद्दामा सुनुवाइ गर्दै महानिर्देशक अधिकारीलाई थुनामा पठाउने आदेश दिएको हो। तत्कालीन निर्देशक मुरारी भण्डारीलाई भने पाँच लाख रुपैयाँ धरौटी माग्ने आदेश भएको सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए।

हेलिपोर्ट निर्माणमा साढे १३ करोड रुपैयाँ भ्रष्टाचार गरेको कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार अधिकारीसहित सातजनाविरुद्ध मुद्दा दायर गरेको थियो। उनीहरूविरुद्ध हेलिपोर्ट निर्माण गर्दा १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ बराबरको सार्वजनिक सम्पत्ति हानि–नोक्सानी गरी भ्रष्टाचार गरेको कसुर रहेको थियो। अख्तियारले अधिकारीसहित ६ जना व्यक्ति र परामर्शदाता कम्पनीलाई समेत प्रतिवादी कायम गरेर विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

साढे १७ करोड लागत अनुमानमा तयार गरिएको उक्त हेलिपोर्ट हालसम्म पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। यद्यपि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १५ किलोमिटर पूर्वमा रहेको हेलिपोर्ट ७ असार २०८१ देखि व्यावसायिक सञ्चालनका लागि खोलिएको थियो। अख्तियारको निष्कर्षअनुसार सञ्चालनयोग्य नरहेको, असुरक्षित र अनुपयुक्त स्थानमा व्यावसायिक योजना, लाभ, लागत विश्लेषणबिना नै अस्वाभाविक रकम खर्च गरी हेलिपोर्ट निर्माण गरिएको देखिएको छ।

यस्तै, बदनियतपूर्ण तरिकाले आयोजना अघि बढाएको, कानुन पालना नगरेको र अनेकौँ प्रक्रियागत त्रुटिसमेत भएको अख्तियारले औँल्याएको छ। उद्देश्यअनुरूप हेलिपोर्ट सञ्चालनमा आउन नसकेकाले सार्वजनिक सम्पत्तिको हानि–नोक्सानी तथा दुरुपयोग भएको तथ्य पुष्टि भएको अख्तियारको ठहर छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *