प्रवासी नेपालीको मताधिकार सुनिश्चित गर्न माग
काठमाडौं । विभिन्न १० देशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको करिब ६० समूहले विदेशस्थित नेपाली नागरिकलाई आगामी निर्वाचनमा मतदान अधिकार सुनिश्चित गर्न सरकारसमक्ष औपचारिक माग गरेका छन्। उनीहरूले अमेरिका, बेलायत, क्यानाडा, अस्ट्रेलिया, चीन, जापान, भारत, बंगलादेश, हङकङ र फ्रान्सलगायतका देशबाट संयुक्त रूपमा आवाज उठाएका हुन्।
नव युग, आइआरडी इन्सुलिएमेन, डिजिटल दस्तख, जेनजी मुभमेन्ट अलाइन्स, मुस्लिम जेनजी नेपाललगायतका समूहले प्रधानमन्त्री, राष्ट्रपति र प्रमुख निर्वाचन आयुक्तलाई एकैपटक संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका छन्। विद्यार्थी समूहले विदेशमा रहेका नेपाली- विशेषगरी प्रवासी श्रमिक र विद्यार्थीलाई निर्वाचन प्रक्रियामा सहभागी गराउन तत्काल कदम चाल्न आग्रह गरेका छन्।
ज्ञापनपत्रका तीन मुख्य विषय
डिजिटल मतदान प्रणाली: राष्ट्रिय परिचयपत्र वा राहदानीमार्फत एकीकृत प्रमाणीकरण, नागरिकता सम्बन्धी स्वयं घोषणा र डिजिटल रसिद तथा भोट सत्यापन प्रणाली तत्काल लागू गर्नुपर्ने।
पूर्ण मतदान अधिकार: विदेशमा रहेका नागरिकलाई प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचनमा सहभागी हुने व्यवस्था मिलाउनुपर्ने।
तत्काल कार्यान्वयन: अन्तरिम सरकारको प्रतिबद्धता अनुसार यही महिनाभित्र स्पष्ट कार्ययोजना सार्वजनिक गर्नुपर्ने।
विद्यार्थी समूहले नीति अनुसन्धान प्रतिष्ठान र नेपाल पोलिसी इन्स्टिच्युटले बाह्य मतदानका लागि ‘आई-भोटिङ’ प्रभावकारी विकल्प भएको सिफारिस गरिसकेको उल्लेख गरेका छन्। उनीहरूले यो प्रणालीलाई विद्यमान राष्ट्रिय परिचयपत्र प्रणालीसँग सजिलै एकीकृत गर्न सकिने बताएका छन्।
अन्तरिम सरकारले विदेशस्थित नागरिकलाई मताधिकार दिने प्रतिबद्धता जनाएपछि तीन महिना बितिसक्दा पनि ठोस कार्ययोजना नआएकोप्रति विद्यार्थीहरूले चिन्ता व्यक्त गरेका छन्। उनीहरूले निर्वाचन आयोगलाई आवश्यक प्राविधिक पूर्वाधार शीघ्र विकास गर्न, र आयोगमा रिक्त पदमा दक्ष र निष्पक्ष जनशक्ति नियुक्त गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन्।
