‘१३ वर्षीया अंशुको हत्या छिमेकीले’

विराटनगर । मोरङको लेटाङ नगरपालिका-२ स्कुलचोककी १३ वर्षीया अंशु गौतम हत्याकाण्डको गुत्थी सुल्झाउन प्रहरी सफल भएको निष्कर्षमा पुगेको छ। लामो र जटिल अनुसन्धानपछि प्रहरीले अंशुको हत्यामा छिमेकी ५९ वर्षीय पदम अधिकारीको संलग्नता पुष्टि भएको दाबी गरेको छ।

घटनाक्रम

बेपत्ता : अंशु असोज २१ गते दिउँसो घरबाट निस्किएकी

शव फेला : कात्तिक ७ गते (बेलबारी-चिसाङ साझेदारी वनमा)

शवको अवस्था : क्षतविक्षत, टाउको र शरीर छुट्टिएको तथा सडेको अवस्थामा

यकिन हुन बाँकी : बलात्कारपछि हत्या गरिएको हो वा होइन (डीएनए रिपोर्ट पर्खाइमा)

जघन्य अपराध: रिसइबी नै हत्याको कारण ?

प्रहरी अनुसन्धानबाट हालसम्म हत्यामा पदम अधिकारी एक्लैको संलग्नता देखिएको छ। हत्याको मुख्य कारण भने अभिभावकसँगको पुरानो रिसइबी हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

घटनास्थलको स्वरूप हेर्दा (ट्राउजर, हाफपाइन्ट र चप्पल फुकालिएको अवस्थामा भेटिएको) बलात्कारपछि हत्या भएको आशंका गरिएको थियो। यद्यपि, यसको आधिकारिक पुष्टि गर्न डीएनए परीक्षणको रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रमाण नष्ट हुँदा अनुसन्धानमा कठिनाइ

शव क्षतविक्षत अवस्थामा फेला परेका कारण धेरैजसो जैविक प्रमाणहरू नष्ट भएका थिए। यसले अनुसन्धानलाई ‘टाउको दुखाइको विषय’ बनाएको थियो।

जिल्ला प्रहरी कार्यालय मोरङ र कोशी प्रदेश प्रहरी कार्यालयसहित केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीसमेत लामो समय खटिएर शंकास्पद व्यक्तिको पहिचान गर्न सफल भएको हो।

‘अपरेशन जग’

अनुसन्धानका लागि मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालसहितको टोलीले अभिभावक, शिक्षक, सहपाठी र छिमेकी लगायत धेरै व्यक्तिसँग सोधपुछ गरेको थियो। कटवालले घटना अत्यन्त संवेदनशील रहेको बताएका छन्। उनले अंशुको हत्या आफूले गरेको अभियुक्त अधिकारीले स्वीकार गरेको जानकारी दिए।

गौतमको बलात्कारपछि हत्या भएको घटनामा डेढ महिना लामो सघन अनुसन्धानपछि प्रहरीले सफलता पाएको छ। बालिका बेपत्ता भएको २ महिना र शव भेटिएको ४४ दिनपछि प्रहरीले हत्यामा संलग्न ५९ वर्षीय छिमेकी पदमबहादुर अधिकारीलाई पक्राउ गरी घटनाको विस्तृत विवरण सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी, कोशी प्रदेश प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को संयुक्त टोलीले यो अनुसन्धानलाई ‘जस्टिस फर अंशु गौतम’ अर्थात् ‘अपरेशन जग’ नाम दिएर अघि बढाएको थियो।

घाँटी थिचे, हँसियाले रेटे

गत असोज २१ गते दिउँसो अंशु आफ्नी छिमेकी साथी युरिकासँग स्कुल चोकमा खेलिरहेकी थिइन्। त्यहीँ पुगेका छिमेकी पदमबहादुरले चलाखीपूर्ण तरिकाले युरिकालाई ५ रुपैयाँ दिएर अन्तै पठाए। एक्लै भएकी अंशुलाई उनले घाँस काट्न सघाइदिए पैसा दिन्छुु भन्दै प्रलोभनमा पारे।

पैसाको लालचमा परेकी अंशु पैदलै जंगलतर्फ लागिन्। केही बेरपछि सुनसान स्थानमा पुगेर अधिकारीले बालिकामाथि जबर्जस्ती करणीको प्रयास गरे। बालिकाले प्रतिकार गर्दा समेत उनले जबरजस्ती गरे।

पोल खुल्ने डर र पुरानो रिसइबीको भावना मिसिएपछि उनले अंशुको घाँटी थिचे। घाँटी थिच्दा मृत्यु भइसकेकोमा शंका लागेपछि उनले साथमा रहेको हँसियाले घाँटी रेटेर बीभत्स हत्या गरे। शवलाई त्यहीँ छाडेर उनी घाँसको भारी बोकी घर फर्किए।

शंका नहोस् भन्दै खोजीमा सक्रिय

हत्यापछि अधिकारीले चलाखीपूर्ण व्यवहार देखाए। साँझसम्म बालिका घर नफर्किएपछि उनी स्वयम् परिवारसँगै खोजीमा जुटे। प्रहरीमा उजुरी दिँदादेखि शव भेट्टाउने काममा समेत उनी सक्रिय देखिए। बालिकाले मोबाइल नबोक्नु र घटनाको प्रत्यक्षदर्शी कोही नहुँदा प्रहरीलाई अनुसन्धानमा ठूलो चुनौती उत्पन्न भयो। मोरङ प्रहरीले ३०० भन्दा बढी व्यक्तिसँग सोधपुछ गर्यो भने १६ जनाको ‘पोलिग्राफ टेस्ट’ समेत गर्‍यो।

छिमेकी र वृद्ध भएकाले सुरुमा पदमबहादुरमाथि प्रहरीले खासै शंका गरेको थिएन। तर, डेढ महिना लामो अनुसन्धान साँघुरिँदै जाँदा एउटा संयोगले घटनाको मोड बदल्यो। जबरजस्ती करणी मुद्दामा जेल परेका पदमबहादुरका छोरा कात्तिक १८ गते कैद भुक्तान गरेर घर फर्किए। छोरा आएको भोलिपल्टै (कात्तिक १९ गते) पदमबहादुर भने ‘कमाउन जान्छु’ भन्दै कसैसँग सल्लाह नगरी हतारमा भारतको मेघालयतिर लागे।

छोरा जेलबाट छुट्नु र बाबु लगत्तै भाग्नुलाई प्रहरीले गम्भीरतापूर्वक लियो। यही विन्दुबाट अनुसन्धान पदमबहादुरमा केन्द्रित भयो।

भारतको मेघालयमा गाई फर्ममा काम गर्न थालेका अधिकारीलाई प्रहरीले आफन्त मार्फत घर बोलाउने प्रयास गर्‍यो। सुरुमा आनाकानी गरे पनि उनी मंसिर १८ गते घर फर्किए। नियन्त्रणमा लिएर सोधपुछ गर्दा सुरुमा उनले इन्कार गरे।

बाबुआमासँगको पुरानो रिसइबी

प्रहरी स्रोतका अनुसार, भारतमा गाई दुहुने क्रममा बाल्टीमा रगत देखेपछि उनलाई अंशुको हत्या गरेको बीभत्स दृश्य याद आएको र निकै आत्मग्लानी भएको बयान दिएका छन्।

‘बाबुआमासँगको पुरानो रिसइबी र तत्कालको आवेशका कारण घटना घटाएको हुँ, अहिले मलाई पश्चाताप छ,’ अधिकारीको बयान उद्धृत गर्दै प्रहरीले भन्यो।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार पक्राउ परेका अधिकारीविरुद्ध जबरजस्ती करणी र ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *