मोरङको जहदामा दाजुको छुरा प्रहारबाट भाइको मृत्यु
सांकेतिक तस्बिर
विराटनगर। मोरङको जहदा गाउँपालिकामा दाजुभाइबीचको सामान्य विवादले उग्र रूप लिँदा दुखद घटना घटेको छ। बुधबार राति आफ्नै दाजुको छुरा प्रहारबाट भाइको मृत्यु भएको हो।
जहदा गाउँपालिका–७ तरिगामास्थित मझारेमा ३० वर्षीय दाजु राजुकुमार साहले २८ वर्षीय भाइ श्रवण साहमाथि छुरा प्रहार गरेका थिए। आपसी विवाद चर्किएपछि आवेशमा आएका राजुले श्रवणको छातीमा छुरा रोपेको प्रहरीले जनाएको छ।
घटनामा गम्भीर घाइते भएका श्रवणलाई तत्काल उद्धार गरी उपचारका लागि विराट मेडिकल कलेज पुर्याइएको थियो। तर, चिकित्सकहरूको प्रयासका बाबजुद उपचारकै क्रममा राति नै उनको मृत्यु भएको मोरङ प्रहरीले पुष्टि गरेको छ।
घटनालगत्तै अभियुक्त राजुकुमार फरार भएका छन्। घटनास्थलमा खटिएका प्रहरी निरीक्षक लेखनाथ दाहालका अनुसार घटनास्थल नेपाल–भारत सीमाबाट करिब ५० मिटरको दुरीमा मात्र रहेकाले छुरा प्रहार गरेलगत्तै अभियुक्त भारततर्फ भागेको अनुमान गरिएको छ। मृतक र अभियुक्तको घर नजिकै रहेको बताइएको छ।
अहिले प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ भने सीमा पारी भागेका आरोपीलाई पक्राउ गर्न भारतीय सुरक्षा निकायसँग समन्वय भइरहेको जनाइएको छ।
