आगलागी किन बढ्दैछ ? कसरी जोगिने ?

आगो मानव जीवनको अभिन्न अंग हो- खाना पकाउन, न्यानोपन र उद्योगहरू चलाउन यसको अपरिहार्य भूमिका छ। तर, यही नियन्त्रण बाहिरको आगो विनाशकारी विपद् बन्न सक्छ। नेपालमा हरेक वर्ष हुने सयौं आगलागीका घटनाहरूले अर्बौंको जनधनको क्षति पुर्‍याएका छन्। सुख्खा मौसम, पुराना संरचना, अव्यवस्थित बस्ती र विद्युत सुरक्षाको कमजोरीले गर्दा आगलागीको जोखिम दिनानुदिन बढ्दै गएको छ। हामीले सार्वजनिक स्थानमा आगो लगाएर ननिभाई हिँड्ने जस्ता लापरबाहीका कारण पनि दैनिक रूपमा घटनाहरू बढेका छन्।

यस लेखमा आगलागीका कारण, त्यसका प्रभाव र न्यूनीकरणका उपायहरू विस्तृत रूपमा प्रस्तुत गरिएको छ:

आगलागीका प्रमुख पाँच कारणहरू

क. विद्युत सर्ट

नेपालमा हुने अधिकांश आगलागीको मुख्य कारण विद्युत सर्ट हुनु हो। पुराना तारहरू, ओभरलोड, कम गुणस्तरका उपकरण र मर्मत नगरिएका मिटरबक्सहरूका कारण एकै सेकेन्डमा करेन्ट सर्ट भई आगो फैलिन्छ। विशेषगरी नाङ्गा तारलाई डल्लो पारेर प्रयोग गर्दा वा बिजुलीको सुरक्षामा बेवास्ता गर्दा ज्वलनशील वस्तुको सम्पर्कमा आई सहजै आगलागी हुन सक्छ।

ख. खुल्ला स्थानमा आगोको लापरबाहीपूर्ण प्रयोग

ग्रामीण क्षेत्रहरूमा दाउरा र परम्परागत चुल्हो प्रयोग गर्दा पर्याप्त सावधानी नअपनाउँदा आगलागी हुन्छ। सार्वजनिक स्थानमा फोहोर जलाउनु र गोठमा चिसो छल्न आगो बालेर सुत्ने क्रममा हावा वा झिल्कोले नजिकका सामग्रीहरूमा आगो सर्न सक्छ।

ग. वन डढेलो

सुख्खा मौसममा वन क्षेत्र अत्यन्त संवेदनशील हुन्छ। अवैध चोरी शिकारी, चुरोटका ठुटा जथाभावी फाल्नु वा चरनका लागि राम्रो घाँस पलाउँछ भन्ने अन्धविश्वासले मेला पाखा र सामुदायिक वनमा आगो लगाइन्छ। नियन्त्रण बाहिर गएको यो आगोले ठूलो क्षेत्रमा क्षति पुर्‍याउँछ।

घ. ग्यास चुहावट

ग्यास सिलिन्डर, रेगुलेटर वा पाइप टुटफुट भएमा चुहावट हुन्छ। खाना पकाउने ठाउँमा ग्यास चुहावटको गन्ध आए पनि बेवास्ता गरेर बिजुलीको स्विच खोल्दा वा सानो झिल्को आउँदा पनि ठूलो दुर्घटना निम्तिन सक्छ।

ङ. मानवीय लापरबाही

यो सबैभन्दा प्रचलित कारण हो। बच्चाहरूलाई सलाई वा लाईटर खेल्न दिनु, पटका पड्काउँदा सुरक्षामा ध्यान नदिनु, र चुरोटका ठुटा जथाभावी फाल्नु जस्ता सामान्य लापरबाहीले पनि आगलागीको जोखिम बढाउँछ।

आगलागीका चौतर्फी प्रभावहरू

आगलागीले केवल भौतिक क्षति मात्र गर्दैन, यसका सामाजिक, मनोवैज्ञानिक र वातावरणीय असरहरू पनि दीर्घकालीन हुन्छन्।

जनधनको व्यापक क्षति: घर, पसल, उद्योग, पशुचौपायाँ, नगद र महत्त्वपूर्ण अभिलेखहरू क्षणभरमै जलेर नष्ट हुन्छन्। नेपालमा लाखौं करोडौं मूल्य बराबरको सम्पत्ति जल्ने घटनाहरू विकराल रूपमा बढिरहेका छन्।

मानव स्वास्थ्यमा असर: ज्यान जाने, घाइते हुने, दीर्घकालीन जलन र श्वासप्रश्वासका समस्याहरू देखिन्छन्। धेरै घटनामा धुँवाले गर्दा निसास्सिएर ज्यान जानु ठूलो जोखिम बन्छ।

सामाजिक र मनोवैज्ञानिक असर: घर जलेर परिवार विस्थापित हुनुका साथै बस्तीमा त्रास फैलिन्छ। आश्रयविहीन भएका मानिसहरूमा निराशा, तनाव र आत्मबलमा कमी जस्ता मनोवैज्ञानिक असरहरू देखिन्छन्।

वातावरणीय क्षति: वन डढेलोको कारण हावाको गुणस्तर बिग्रिनु, जैविक विविधता र वन्यजन्तुको मृत्यु हुनु, माटो क्षय हुनु र जलस्रोत सुक्नुजस्ता पर्यावरणीय समस्याहरू देखिन्छन्।

आगलागी न्यूनीकरणका लागि तीन तहका उपायहरू

आगलागीलाई पूर्ण रूपमा रोक्न नसकिए पनि सावधानी, तयारी र जिम्मेवार व्यवहारले जोखिम धेरै हदसम्म घटाउन सकिन्छ।
क. घर–परिवार स्तरमा अपनाउनुपर्ने सावधानी

विद्युत सुरक्षा: विद्युतिय तार, मिटरबक्स र मुख्य स्विच नियमित चेकजाँच गर्ने र बिग्रिएको देखेमा तत्काल फेर्ने। धेरै प्लग एउटै बोर्डमा जोडेर ओभरलोड नगर्ने।

ग्यास चेकजाँच: ग्यास सिलिन्डर, रेगुलेटर र पाइप हरेक ६ महिनामा निरीक्षण गर्ने।

चेतना: खाना पकाउँदा वा आगो बाल्दा ध्यान दिने र निभाएर मात्र घर छाड्ने। बच्चालाई सलाई र लाईटरबाट टाढा राख्ने।

प्रारम्भिक उपकरण: घरमा बालुवा, पानी भएको बाल्टिन वा सानो ‘अग्नि शामक यन्त्र’ राख्ने। धुवाँ आएको थाहा पाउन फायर अलार्म वा स्मोक डिटेक्टर जडान गर्ने।

ख. समुदाय स्तरमा आवश्यक उपाय

जोखिम नक्साङ्कन: गाउँ बस्तीमा आगलागी जोखिम नक्सा बनाउने।

तालिम: समुदायमा प्राथमिक उपचार, दमकल तालिम र पहिलो मद्दत सम्बन्धी तालिम सञ्चालन गर्ने।

पूर्वाधार: बस्तीमा साना पोखरी, पानी ट्याङ्की वा पानीको स्रोत जोगाइराख्ने ताकि आगलागीमा तुरुन्त पानी उपलब्ध होस्। दमकल प्रवेश गर्न सडक चौडा र सहज बनाउने।

ग. सरकार र स्थानीय तहको भूमिका

दमकल र जनशक्ति: हरेक स्थानीय तहमा कम्तीमा एउटा दमकल र प्रशिक्षित जनशक्ति अनिवार्य रूपमा राख्नुपर्छ।

वन डढेलो व्यवस्थापन: वन डढेलो नियन्त्रणका लागि गस्ती, सचेतना कार्यक्रम र दण्ड–जरिबाना कडाइका साथ लागू गर्ने।

विपद् प्रणाली: विपद् व्यवस्थापन समितिहरू सक्रिय बनाई आगलागीसम्बन्धी सचेतना विस्तार र प्रतिकार्य प्रणाली मजबुत बनाउने। आगलागी बीमा योजनालाई सरल र जनमैत्री बनाउनु आवश्यक छ।

‘सुरक्षा हाम्रो जिम्मेवारी’ भन्ने सोच सबैले अपनाएमा आगलागीबाट बच्न सजिलो हुन्छ। घर–परिवार, समुदाय र सरकारबीचको समन्वय नै आगलागी जोखिम न्यूनीकरणको मुख्य आधार हो। समयमै अपनाइएका सावधानका उपायहरूले धेरैको ज्यान र सम्पत्ति जोगाउन सकिन्छ।

-चलाउने विपद् व्यवस्थापन सम्बन्धी प्रशिक्षक हुन्।

* * *

विपद् पूर्वतयारी : घरपरिवारले अपनाउनुपर्ने ६ मुख्य रणनीति


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *