एस्पायर कलेज-कोरिया सम्झौता: विद्यार्थीलाई अब अन्तर्राष्ट्रिय ‘एड-टेक’ को अवसर

विराटनगर। विराटनगरमा सञ्चालित एस्पायर कलेजले आफ्ना विद्यार्थीहरूलाई विश्वस्तरीय प्रविधिसँग जोड्न दक्षिण कोरियाको अग्रणी एड-टेक कम्पनी ‘छन्जे एजुकेशन’ सँग औपचारिक सम्झौता गरेको छ। दक्षिण कोरियामा सम्पन्न यो सम्झौताले एस्पायरका विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको सिकाइ र अवसरको ढोका खोलेको छ।

काठमाडौं विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङ र स्कुल अफ एजुकेसनअन्तर्गत BIT र BTech Ed IT कार्यक्रम सञ्चालन गरिरहेको एस्पायर कलेजले यो सहकार्यमार्फत विद्यार्थीलाई किताबी ज्ञानभन्दा माथि उठेर वास्तविक अन्तर्राष्ट्रिय प्रोजेक्टमा जोड्न खोजेको हो।

कोरियाको डिजिटल शिक्षामा शीर्ष स्थानमा रहेको ‘छन्जे एजुकेशन’ सँगको सहकार्यले नेपाली विद्यार्थीहरूले अब ग्लोबल स्ट्यान्डर्डको एड-टेक अभ्यास गर्ने मौका पाउनेछन्।

सम्झौता लगत्तै विद्यार्थीहरूका लागि अवसरको सुरुवात भइसकेको छ। यही डिसेम्बर ८ (मंसिर २३) देखि एस्पायर कलेजमा ६ हप्ते ‘अन्तर्राष्ट्रिय बुटक्याम्प’ र त्यसपछि २ दिने ‘ह्याकाथन’ सुरु हुँदैछ।

यस कार्यक्रममा विद्यार्थीहरूले निम्न अत्याधुनिक सीपहरू सिक्नेछन्:

डिजिटल कन्टेन्ट डेभलपमेन्ट

UI/UX डिजाइन

कोडिङ वर्कफ्लो (GitHub)

इन्टरेक्टिभ लर्निङ सिस्टम

क्लाउड डिप्लोयमेन्ट

उत्कृष्टलाई कोरियाली प्रोजेक्टमा काम गर्ने मौका

ह्याकाथनमा उत्कृष्ट प्रदर्शन गर्ने ३ वटा टोलीलाई नगद पुरस्कार प्रदान गरिनेछ। अझ महत्त्वपूर्ण कुरा, विजेता विद्यार्थीहरूले कोरियाली एड-टेक परियोजनाहरूमा प्रत्यक्ष संलग्न भई काम गर्ने अवसर पाउनेछन्। यसले उनीहरूको करियरलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन ठूलो मद्दत पुग्ने विश्वास लिइएको छ। एस्पायर कलेजले यो सम्झौतालाई शैक्षिक नवप्रवर्तन र सीप विकासको दिशामा एक ठूलो फड्को मानेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *