विद्यालयमै विपद् चेतना : अग्नि नियन्त्रण प्रशिक्षण
तुलसीपुर। दाङको तुलसीपुरस्थित त्रिदेव सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुलमा विपद् व्यवस्थापन, अग्नि नियन्त्रण तथा प्राथमिक उपचारसम्बन्धी महत्त्वपूर्ण तालिम सफलतापूर्वक सम्पन्न भएको छ।
विद्यालयको आयोजना तथा लुम्बिनी प्रदेश प्रहरी विपद् व्यवस्थापन कार्यालय गुल्म, तुलसीपुरको प्राविधिक सहयोगमा उक्त तालिम आयोजना गरिएको हो।
कार्यक्रम त्रिदेव स्कुलका प्रधानाध्यापक मनोज हमालको अध्यक्षतामा सम्पन्न भयो। तालिमका प्रमुख अतिथि लुम्बिनी प्रदेश विपद् व्यवस्थापन गुल्म, तुलसीपुरका प्रहरी वरिष्ठ नायब निरीक्षक सन्तोष शाह विशेष अतिथि रहेका थिए। तालिममा कुल १० जना प्रहरी कर्मचारीहरू सहभागी थिए।
तालिमका क्रममा सहभागी विद्यार्थी तथा शिक्षक–शिक्षिकालाई विपद् के हो, कसरी उत्पन्न हुन्छ, आगोलाई कसरी नियन्त्रण गर्न सकिन्छ र यसको रोकथाम तथा न्यूनीकरणका उपायहरूबारे विस्तृत रूपमा जानकारी दिइयो।

प्रहरी टोलीले आगलागी तथा अन्य आकस्मिक विपद्का अवस्थामा अपनाउनुपर्ने सावधानी तथा क्षति न्यूनीकरणका उपायहरू प्रयोगात्मक माध्यमबाट प्रदर्शन गर्दै व्यावहारिक सिकाइ प्रदान गरे।
सोही कार्यालयका प्रहरी सहायक निरीक्षक ऐन कुमार थापाले विपद् परिचय र आगलागीसम्बन्धी प्रशिक्षण दिए।
कार्यालयका प्रहरी सहायक हबल्दार धन बहादुर चलाउनेले प्राथमिक उपचारसँग सम्बन्धित निकै लाभदायिक विषयवस्तुमा प्रशिक्षण दिए।
प्रहरी जवान राजेन्द्र सुनारले आगो नियन्त्रण गर्न प्रयोग हुने अग्निशामक यन्त्रका बारेमा प्रशिक्षण दिए।
यसैगरी, अन्य प्रहरी कर्मचारीहरू यज्ञ घर्ती, उमा कुमारी आचार्य, दुर्गा कुमारी बुढा, सत्य अधिकारी, पृथ्वी पुन, राजेश नेपाली लगायतकाले ‘डेमो’ प्रदर्शन गरे।
कार्यक्रमको सहजीकरण त्रिदेव स्कुलका कोअर्डिनेटर पोषण वलीले गरे।
