चितवनलाई हराउँदै काठमान्डु गोर्खाजको तेस्रो जित
काठमाडौँ। काठमान्डु गोर्खाजले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा तेस्रो जित दर्ता गरेको छ। शुक्रबार भएको खेलमा काठमान्डुले चितवन राइनोजमाथि ५३ रनको फराकिलो जित निकालेको हो।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाउँदै १४२ रन बनाएको थियो।
काठमान्डुका लागि सिम्पसनले २९ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ६० रनको अर्धशतकीय पारी खेले।
मिलिन्द कुमारले ४३ बलमा ५ चौकाको सहयोगमा ३८ रन बनाए। वेन चाल्र्सवेथले १३ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
चितवनका लागि सोहिल तनविरले ४ ओभरमा २५ रन खर्चेर सर्वाधिक चार विकेट लिए। रन्जित कुमार र कमल सिंह ऐरीले दुई–दुई विकेट लिँदा रवी बोपराले एक विकेट लिए।
१४३ रनको लक्ष्य पछ्याएको चितवन राइनोजले १७ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ८९ रन मा सीमित भयो।
चितवनका लागि देव खनाल र अर्जुन साउदले समान २१–२१ रनको योगदान गरे। सोहिल तनविरले १८ रन जोडे।
काठमान्डुका लागि रशिद खानले सर्वाधिक तीन विकेट लिए। कप्तान करण केसी, शाहब आलम र दिपेश कँडेलले दुई–दुई विकेट लिँदा सन्तोष यादवको नाममा एक विकेट रह्यो।
आजको खेलमा जित निकाल्दै काठमान्डु गोर्खाजले ५ खेलबाट ६ अंक जोडेको छ। यता चितवन राइनोजको भने ३ खेलबाट ४ अंक छ।
