ट्रकमा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु
विराटनगर। सुनसरीको धरान उपमहानगरपालिकामा शुक्रबार बिहानै भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ। कोशी राजमार्गअन्तर्गत धरान-८, तीनकुनेमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो।
शुक्रबार बिहान १ः३० बजेतिर धरानबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १-०३-००१ प १३२४ नम्बरको मोटरसाइकल सडकमा रोकेर राखिएको ट्रक (प्रदेश १-०२-००१ ख ८७५७) मा ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक इटहरीका २५ वर्षीय मञ्जिल लिम्बू र पछाडि सवार ३२ वर्षीय अमित राई गम्भीर घाइते भएका थिए। दुवैलाई तत्काल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको थियो।
प्रहरीका अनुसार मोटरसाइकल चालक लिम्बूलाई चिकित्सकले मृत घोषित गरेका थिए। गम्भीर घाइते अवस्थाका राईको उपचार जारी छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको खुलेको छ। प्रहरीले ट्रक, मोटरसाइकल र ट्रक चालक गणेश भण्डारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
