एनपीएलमा आज : विराटनगर-कर्णाली, चितवन-काठमाण्डु
काठमाडौें। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज शुक्रबार प्लेअफको दौडका लागि दुई महत्त्वपूर्ण खेलहरू हुँदैछन्। समान चार अंक भएका चितवन राइनोज र काठमाण्डु गोर्खाजका लागि आजको पहिलो खेल जित्नैपर्ने दबाब छ।
पहिलो खेल- ११ः४५ बजे, चितवन राइनोज भर्सेस काठमाण्डु गोर्खाज
यो खेल दुवै टोलीका लागि निर्णायक छ। तीन खेल खेलेको चितवन र चार खेल खेलेको काठमाण्डुको समान चार अंक छ। हाल चितवन तेस्रो र काठमाण्डु चौथो स्थानमा छन्। जित्ने टोली शीर्ष स्थानतर्फ उक्लिने बलियो सम्भावना हुनेछ।
दोस्रो खेल- दिउँसो ४ः०० बजे, कर्णाली याक्स भर्सेस विराटनगर किंग्स
विराटनगर किंग्स चार खेलमा एक मात्र गुमाएर ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। आजको जितले उसलाई शीर्ष स्थानमा रहेका सुदूरपश्चिमसँगको दूरी कम गर्न मद्दत गर्नेछ। उता, तीन खेलमा एक मात्र जित निकालेको कर्णाली याक्स (२ अंक) पाँचौं स्थानमा छ र उसलाई प्लेअफको आशा कायमै राख्न जित अत्यावश्यक छ।
प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीहरू प्रतिस्पर्धा गरिरहेका छन्। हाल अपराजित रहेको सुदूरपश्चिम रोयल्स ८ अंकसहित शीर्ष स्थानमा छ।
दोस्रो स्थानमा ६ अंक बटुलेको विराटनगर किंग्स छ। आज खेल्ने चितवन राइनोज र काठमाण्डु गोर्खाज समान ४ अंकसहित क्रमशः तेस्रो र चौथो स्थानमा छन्।
समान २–२ अंक रहेका कर्णाली, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स क्रमशः पाँचौं, छैटौं र सातौं स्थानमा छन्। जनकपुर बोल्टस हालसम्म अंकबिहीन रहँदै तालिकाको पुछारमा छ।
मङ्सिर १ गतेदेखि सुरु भएको एनपीएल यस महिनाको २७ गतेसम्म सञ्चालन हुनेछ।
