‘आकाशै आकाश भाग्नेले के को धर्तीको शासन ?’
काठमाडौँ। एमाले अध्यक्ष केपी ओलीमाथि राजेन्द्र श्रेष्ठले ‘आगो ओकल्ने’ अभिव्यक्ति दिएका छन्। भर्खरै जसपा छाडेर नेकपासँग ‘लभ’ पारेका श्रेष्ठले ओलीको पुरानो घाउ कोट्याउँदै भने- ‘जेनजी लाई जिस्काउँदा ओलीजीको हविगत के भयो ? बालुवाटारबाट गाडीमा होइन, हेलिकप्टर चढेर भाग्नुपर्यो ।’
बिहीबारको एकता सभामा श्रेष्ठ आक्रामक मुडमा देखिए । उनले सिधै ठोकुवा गरे, ‘जेनजीले बालुवाटार घेरेपछि जसको सातो उड्यो, जो जमिन छोडेर आकाशबाट भाग्नुपर्यो, त्यस्ता ‘भगौडा’ ले अब देशको नेतृत्व गर्छु भन्नु सुहाउँछ ?’ ओलीले युवा पुस्तालाई ‘खिस्सिट्युरी’ गरेकै कारण सत्ताबाट हात धुनुपरेको उनको जिकिर थियो ।
उता, अशोक राईले पनि एमालेसँगको ‘ब्रेकअप’ को भित्री कथा खोले । उनले भने, ‘हामी संविधान फेर्ने मुडमा थियौं, नेतृत्व चाहिँ सुटुक्क एमालेको फेर समात्न खोज्यो । प्रतिगमनकारीसँग लसपस गर्नुभन्दा हामीले ‘रेड सिग्नल’ (नेपाली कम्युनिस्ट पार्टी) नै रोज्यौं ।’
राईले जनयुद्ध र जनआन्दोलनको ‘फ्युजन’ को पावर देखाउँदै भने, ‘२४० वर्षको राजतन्त्र त ढल्यो भने अब जेनजीको भावना बुझेर भ्रष्टाचारीको सातो खाने दम प्रचण्ड सरकारसँग मात्रै छ ।’
