सुन तस्करी प्रकरणः पूर्वसभामुख महरालाई धरौटीमा छाड्न आदेश
फाइल तस्बिर
काठमाडौँ। उच्च अदालत पाटनले ‘भेप’ मार्फत सुन तस्करी गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
बिहीबार न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले काठमाडौँ जिल्ला अदालतको थुनामा पठाउने आदेशलाई बदर गर्दै महरालाई धरौटीमा छाड्ने निर्णय गरेको हो।
महरामाथि चिनियाँ नागरिक लि हासोङसँग मिलेर ८ करोड बराबरको सुन तस्करी गरेको आरोपमा मुद्दा दायर भएपछि गत असोज २९ गते जिल्ला अदालतले उनलाई थुनामा पठाएको थियो।
तर, उच्च अदालतले महराविरुद्ध यथेष्ट प्रमाण पेस हुन नसकेको, जाहेरीमा नाम उल्लेख नभएको र सह(अभियुक्तहरूले समेत पोल नगरेको भन्दै थुनामै राखेर कारबाही गर्नु उचित नहुने ठहर गरेको छ।
अदालतले तस्करी भएको भनिएको सुन दशीका रूपमा पेस हुन नसकेको र नयाँ प्रमाण पनि नभेटिएको तर्क गर्दै २० लाख धरौटी वा सो बराबरको जमानत लिएर तारिखमा राखी मुद्दाको कारबाही अघि बढाउन आदेश दिएको छ।
