विराटनगर किङ्सको अपराजित यात्रामा चितवन राइनोजले लगायो ‘ब्रेक’

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले विराटनगर किङ्सको अपराजित यात्रामा पूर्णविराम लगाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार सम्पन्न खेलमा चितवनले विराटनगरलाई ४८ रनको फराकिलो अन्तरले पराजित गरेको हो।

चितवनले प्रस्तुत गरेको १७५ रनको लक्ष्य पछ्याएको विराटनगरले १६.५ ओभरमा सबै विकेट गुमाउँदै १२६ रन मात्रै बनाउन सक्यो।

रञ्जित कुमारको जादुगरी बलिङ

विराटनगरलाई सस्तैमा समेट्ने क्रममा चितवनका बलर रञ्जित कुमार चम्किए। उनले ४ ओभर बलिङ गर्दै मात्र २१ रन खर्चेर सर्वाधिक ५ विकेट हात पारे। उनलाई कमलसिंह ऐरीले २ विकेट लिएर साथ दिएका थिए।

विराटनगरका लागि मर्चेन डी लिङ्गेले सर्वाधिक ३९ रन (२२ बलमा २ चौका र ४ छक्का) बनाए पनि त्यो जितका लागि पर्याप्त भएन। प्रतिश जिसीले पनि १२ बलमा ३० रनको आक्रामक योगदान दिएका थिए।

बोपाराको लगातार तेस्रो अर्धशतक

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७४ रनको बलियो योगफल तयार पारेको थियो।

चितवनको ब्याटिङमा रवी बोपाराले पुन: उत्कृष्ट प्रदर्शन गरे। उनले ३८ बल खेल्दै ३ चौका र ४ छक्कासहित सर्वाधिक ६५ रन बनाए। यो उनको जारी प्रतियोगितामा लगातार तेस्रो अर्धशतक हो।

यस्तै, चितवनका लागि सैफ जैबले ३२, देव खनालले २८ र कुशल मल्लले अविजित २० रनको योगदान दिए। विराटनगरका कप्तान सन्दीप लामिछाने र मर्चेन्ट डी लेङ्गेले २-२ विकेट हात पारेका थिए।

अंक तालिकामा असर

यो जितसँगै चितवन राइनोजले ३ खेलबाट ४ अंक जोडेको छ। यता, लिगमा पहिलो हार बेहोरेको विराटनगरको भने ४ खेलबाट ६ अंक छ। यस हारले गर्दा विराटनगरले अंक तालिकाको शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *