एनपीएल: काठमान्डु गोर्खाजको दोस्रो जित, लुम्बिनी २२ रनले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणअन्तर्गत मंगलबार भएको खेलमा काठमान्डु गोर्खाजले लुम्बिनी लायन्समाथि २२ रनको रोमाञ्चक जित हात पारेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा जितसँगै काठमान्डुले अंक तालिकामा आफ्नो अवस्था सुधार गरेको छ।

काठमान्डुले प्रस्तुत गरेको १५९ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्स १९.१ ओभरमा १३५ रनमै अलआउट भयो। लुम्बिनीका लागि शेर मल्लले सर्वाधिक २७ र दिलीप नाथले २५ रन बनाए पनि टोलीलाई जिताउन पर्याप्त भएन।

बलिङतर्फ काठमान्डुका मिलिन्द कुमार र जेरार्ड एरासमसले कसिलो बलिङ गर्दै २–२ विकेट लिए। त्यस्तै, कप्तान करण केसी, शाहब आलम, सन्तोष यादव र रासिद खानले १–१ विकेट हात पारे।

यो जितसँगै ४ खेल खेलिसकेको काठमान्डु ४ अंकसहित लिगको तेस्रो स्थानमा उक्लिएको छ। यसअघि काठमान्डुले जनकपुर बोल्ट्सलाई हराएको थियो भने सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्ससँग पराजित भएको थियो।

उता लुम्बिनी लायन्सको भने यो लगातार दोस्रो हार हो। पहिलो खेलमा चितवन राइनोजलाई हराएर सुखद सुरुआत गरेको लुम्बिनी त्यसपछिका खेलमा कर्णाली याक्स र अहिले काठमान्डुसँग पराजित भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *