कोशीमा कृषि क्षेत्रको तथ्यांक व्यवस्थित गर्न ‘डिजिटलाइज’ प्रविधि
विराटनगर। कोशी प्रदेशको कृषि विकास निर्देशनालय, विराटनगरले कृषि क्षेत्रको तथ्यांक सङ्कलन र प्रतिवेदन प्रणालीलाई आधुनिक बनाउने पहल गरेको छ।
निर्देशनालयद्वारा Progress Report Compilation Software सफलतापूर्वक विकास गरिएको छ। यसको सञ्चालन तथा व्यवस्थापनसम्बन्धी दुई दिने तालिम सोमबार सम्पन्न भएको छ।
सफ्टवेयरका मुख्य फाइदाहरू
नयाँ प्रविधिमा आधारित यो सफ्टवेयरले कृषि क्षेत्रको प्रगति विवरणलाई छिटो, सहज र विश्वसनीय रूपमा एकीकृत गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ। यसले निम्न विवरणहरू एकै स्थानमा व्यवस्थित गर्नेछ।
निर्देशनालय तथा मातहतका कार्यालयहरूले मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक प्रगति विवरण सहजै एकीकृत गरी सम्बन्धित निकायमा पठाउन सक्नेछन्।
यसबाट कृषि बाली उत्पादनसम्बन्धी जिल्लागत तथ्यांक संकलन, कृषक समूह तथा कृषि सहकारीहरूको विस्तृत विवरण व्यवस्थित अभिलेखीकरण र व्यवसायिक कृषि फर्महरूको GPS Coordinates सहितको अभिलेख राख्न सहज हुने जनाइएको छ।

जिल्लास्तरका विषयगत कार्यालयहरूले सम्पादन गरेका कार्यक्रम–क्रियाकलापहरूको प्रगति विवरण र सुशासनसम्बन्धी अन्य महत्वपूर्ण विवरणहरू व्यवस्थित रूपमा राख्नेछ।
तालिम तथा अभिमुखीकरण कार्यक्रममा निर्देशनालय मातहतका १८ वटा कार्यालयका योजना शाखामा कार्यरत प्राविधिक अधिकृतहरूले सक्रिय सहभागिता जनाएका थिए।
यो नयाँ सफ्टवेयरले कोशी प्रदेशमा कृषि विकासका कार्यक्रमहरूको अनुगमन तथा योजना निर्माणलाई थप प्रभावकारी बनाउने देखिन्छ।
