जनकपुरलाई हराउँदै विराटनगरको तेस्रो जित

काठमाडौं। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सले लगातार तेस्रो जित दर्ता गरेको छ। सोमबार भएको रोमाञ्चक खेलमा विराटनगरले साविक विजेता जनकपुर वोल्ट्सलाई ९ रनले पराजित गरेको हो।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट रंगशालामा भएको खेलमा विराटनगरले दिएको १३६ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२६ रन मात्रै बनाउन सक्यो।

जनकपुरका लागि जान निकोल लफ्टी इटनले सर्वाधिक ४१ रन बनाए। उनले ३१ बलमा ४ चौका र १ छक्का प्रहार गरेर रन आउट भए। ओपनर लाहिरु मिलनथाले २२ बलमा २३ रन बनाए। अन्य ब्याट्सम्यानहरूमा सञ्जय कृष्णमूर्तिले २० र आसिफ शेखले १३ रन जोडे।

विराटनगरको जितमा कप्तान सन्दीप लामिछाने चम्किए। उनले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभर बलिङ गर्दा मात्र ११ रन खर्चेर महत्त्वपूर्ण चार विकेट लिए।सन्दीपबाहेक सूर्य तामाङले दुई, शुभम रञ्जन र मर्चेल डे लिङगाले एक–एक विकेट लिए।

त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३५ रन बनाएको थियो। विराटनगरका लागि शुभम रञ्जनले ३७ रन बनाए भने बासिर अहमदले ३५ बलमा ३ चौकासहित ३६ रनको योगदान दिए। ओपनर लोकेश बमले २६ बलमा २९ रन जोडे। जर्ज मुन्सेले १० र मार्टिन गप्टीलले १३ रन बनाएर आउट भए।

जनकपुरका लागि सङ्गीत कोरे र रुपेश सिंहले समान दुई–दुई विकेट लिए भने आदित्य महताले एक विकेट हात पारे। यो जितसँगै विराटनगर किङ्सले ३ खेलमा ६ अङ्क जोड्दै लिग तालिकामा आफ्नो स्थान बलियो बनाएको छ। उता, साविक विजेता जनकपुर वोल्ट्सले भने लगातार दोस्रो हार ब्यहोरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *