एनपीएल : अपराजित विराटनगर र सुदूरपश्चिम शीर्ष स्थान जोगाउने दौडमा
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा आज सोमबार दुई महत्त्वपूर्ण प्रतिस्पर्धा हुँदैछन्। हिजो आइतबार विश्रामपछि आज त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा शीर्ष स्थानमा रहेका टोलीहरू पुनः मैदानमा उत्रिने भएका हुन्।
नेपाल क्रिकेट सङ्घले सार्वजनिक गरेअनुसार, आज बिहान ११:४५ बजे हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्स बीच प्रतिस्पर्धा हुँदैछ। त्यसैगरी, दोस्रो खेल दिउँसो ४:०० बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स बीच हुनेछ।
शीर्ष स्थानमा बलियो बन्ने दाउ
हालसम्म दुई–दुई खेल खेलेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स दुवै चार–चार अङ्कका साथ अपराजित छन्। आजको खेल जितेर यी दुवै टोली शीर्षस्थानमा आफ्नो पकड बलियो बनाउन चाहन्छन्।
विराटनगरले बिहानको खेलमा हालसम्म अङ्कविहीन रहेको जनकपुर बोल्ट्ससँग खेल्दैछ। लगातार तेस्रो जित निकाल्दै विराटनगर आफ्नो लय कायम राख्न चाहन्छ। दिउँसो हुने डे-नाइट खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सको सामना गर्नेछ। एक जित र दुई हार बेहोरेको कर्णाली याक्सले अपराजित सुदूरपश्चिमलाई कडा टक्कर दिने अपेक्षा गरिएको छ।
तीन खेल खेलिसकेको काठमाडौँ गुर्खाज भने दुई अङ्क जोड्दै तेस्रो स्थानमा छ। दुईवटा खेल खेलेको पोखरा एभेन्जर्स भने दुवै पराजित हुँदै अङ्क तालिकाको पुछारमा छ।
मङ्सिर १ गतेदेखि सुरु भएको यस प्रतियोगितामा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किङ्ग्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगिताको फाइनल मङ्सिर २७ गते हुनेछ।
