एनपीएल क्रिकेटको मैदानबाटै अनलाइन सट्टेबाजी गराउने ८ भारतीय पक्राउ

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा अवैध अनलाइन ‘बेटिङ’ (सट्टेबाजी) गराएको आरोपमा ८ जना भारतीय नागरिक पक्राउ परेका छन्।

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले खेल भइरहेकै स्थलबाट उनीहरूलाई पक्राउ गरेको हो। यस घटनाले नेपालमा भइरहेको ठूलो क्रिकेट प्रतियोगितामा सट्टेबाजीको सञ्जाल सक्रिय रहेको पुष्टि गरेको छ।

पक्राउ पर्ने सबै भारतीय नागरिक भारतको आन्ध्र प्रदेशका छन्। पक्राउ पर्नेहरूमा राजा यदुला (३१ वर्ष), महेश बाबु (३५), पण्डित श्रीनिवासुलु (३०), सेख सोयब (२०), नभिन मड्डेला (३०), महमद रफी सेख (३२), साई कुमार तम्मिसेट्टी (१९) र सेख चन्द बसल (२८) छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यका अनुसार, काठमाडौं महानगरपालिका-२६ सामाखुशीमा बस्दै आएका उनीहरूलाई थप अनुसन्धान तथा कानूनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।

नेपालमा सट्टेबाजी पूर्ण रूपमा गैरकानूनी मानिन्छ। प्रहरीले उनीहरूमाथि ‘सङ्गठित अपराध’ अन्तर्गत मुद्दा चलाउने तयारी गरिरहेको बुझिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *