एमाले नेता महेश बस्नेतमाथि विराटनगर विमानस्थलमा दुर्व्यवहार प्रयास
विराटनगर । नेकपा (एमाले) का नेता महेश बस्नेतमाथि आज (आइतबार) बिहान विराटनगर विमानस्थलमा दुर्व्यवहारको प्रयास भएको छ। नेता बस्नेतलाई बेलुनको लोला हानेर दुर्व्यवहार गर्न खोज्ने दुई जनालाई प्रहरीले तत्काल पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका–२ बस्ने १९ वर्षीय अर्पित कुँवर र विराटनगर–१ का २५ वर्षीय संजोग गौतम रहेको मोरङ प्रहरीले जनाएको छ।
बस्नेत इटहरीमा आयोजित युवा संघको जनजागरण अभियानमा सहभागी हुन श्री एयरको जहाजमार्फत बिहान करिब १० बजेर ५० मिनेटमा विराटनगर आइपुगेका थिए। विमानस्थलबाट बाहिरिने क्रममा दुर्व्यवहारको प्रयास भए पनि अवस्था तत्कालै सामान्य पारिएको थियो। बस्नेतका साथ अर्का नेता भानुभक्त ढकाल पनि थिए।
घटनापछि नेता बस्नेत कार्यक्रमस्थल इटहरीतर्फ लागिसकेका छन्। मोरङ प्रहरी स्रोतका अनुसार विमानस्थल र आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
