अनिश्चित बन्यो शिक्षकहरूको सरुवा

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षक सरुवा कार्यविधि संशोधनको प्रक्रिया सर्वोच्च अदालतमा मुद्दा परेपछि तत्कालका लागि रोकिएको बताएका छन्।

मन्त्री पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत सरुवा कुरिरहेका शिक्षकहरूलाई यो जानकारी दिएका हुन्।

मन्त्री पुनका अनुसार अन्याय र मर्कामा परेका शिक्षकहरूलाई केही सहज बनाउने उद्देश्यले करिब तीन हप्ता लगाएर ‘शिक्षक सरुवा कार्यविधि’ को संशोधनको खाका तयार पारिएको थियो।

तर, हालै सर्वोच्च अदालतमा कार्यविधि संशोधन विरुद्ध मुद्दा दर्ता भएको जानकारी आएकाले संशोधनको काम विचाराधीन अवस्थामा रहेको उनले बताए।

उनले अदालतमा मुद्दा विचाराधीन रहेकाले अहिले तत्कालका लागि केही गर्न नसकिने स्पष्ट पारे।

शिक्षक सरुवाको प्रक्रिया अगाडि बढाउनका लागि मुद्दावालाहरूले मुद्दा फिर्ता लिनुपर्ने अवस्था आएको उनले उल्लेख गरेका छन्।

मन्त्री पुनको यो जानकारीसँगै तत्काल सरुवाको प्रतीक्षामा रहेका हजारौँ शिक्षकहरूको बाटो अनिश्चित बनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *