सुनसरीको अरिहन्त जुट मिल्समा भीषण आगलागी : ८ दमकल परिचालन

सुनसरी। सुनसरीको दुहबी नगरपालिका–८ सोनापुरमा रहेको अरिहन्त जुट मिल्समा शनिबार साँझबाट भीषण आगलागी भइरहेको छ । करिब ५ बजेबाट अचानक सुरु भएको आगो मिल्सको ठूलो भागमा फैलिँदै गएपछि नियन्त्रणमा कठिनाइ भइरहेको छ ।

आगो नियन्त्रणका लागि अहिले ठूलो संख्यामा सुरक्षाकर्मी र दमकल परिचालन गरिएको छ । विराटनगर महानगरपालिकाबाट २ सहित दुहबी, देवानगंज, रामधुनी, सुन्दरहरैँचा, बराहक्षेत्र र धरान उपमहानगरपालिकाका गरी कूल ८ वटा दमकल आगलागीस्थलमा खटिएका छन् ।

इलाका प्रहरी कार्यालय दुहबीका इन्स्पेक्टर युवराज थापा र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस दुहबीका इन्स्पेक्टर माधवप्रसाद ढुंगेलको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो टोली, मिल्सका कर्मचारी र स्थानीयवासी आगो निभाउन खटिएका छन् ।

प्रहरीका अनुसार मिल्सभित्र रहेका कच्चा पदार्थ, तेलजन्य पदार्थ तथा अन्य ज्वलनशील सामग्रीका कारण आगो नियन्त्रणमा समस्या भएको हो । सुरक्षाकर्मीले जोखिम मोलेर मिल्सभित्रको आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । आगो बस्तीमा फैलने सम्भावना भने नरहेको प्रहरीले जनाएको छ । आगलागीको कारण हालसम्म पत्ता लाग्न सकेको छैन भने नियन्त्रणको प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *