काठमान्डु गोर्खाजलाई ५ विकेटले हराउँदै विराटनगर किंग्स शीर्षमा
काठमाडौँ। विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आफ्नो विजय यात्रालाई दोस्रो खेलमा पनि निरन्तरता दिएको छ । विदेशी खेलाडीद्वय जर्ज मन्सी र मार्टिन गप्टिलको विष्फोटक ब्याटिङको मद्दतमा विराटनगरले शनिबार त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला कीर्तिपुरमा भएको खेलमा काठमान्डु गोर्खाजलाई ५ विकेटले सहजै पराजित गरेको हो ।
काठमान्डुले दिएको १ सय ३५ रनको लक्ष्य विराटनगरले १७.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिम रोयल्सपछि एनपीएलमा लगातार दुई खेल जित्ने विराटनगर दोस्रो टोली बनेको छ । यसअघि विराटनगरले पोखरा एभेन्जर्सविरुद्ध एनपीएलकै उच्च स्कोर २२० रन बनाउँदै ५३ रनको फराकिलो जित हासिल गरेको थियो ।
सामान्य लक्ष्य पछ्याएको विराटनगरको जितको आधार विदेशी ब्याटरहरूले नै तयार पारे । लोकेश बम (१४) आउट भएपछि जर्ज मन्सी र मार्टिन गप्टिलले दोस्रो विकेटका लागि मात्र २४ बलमा ५३ रनको आक्रामक साझेदारी गरे । मन्सीले १६ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ३६ रन बनाए भने गप्टिलले १९ बलमा २ चौका र १ छक्काको मद्दतले २५ रन जोडे ।
मध्यक्रममा बसिर अहमदले १९ र नरेन भट्टले २४ रनको योगदान दिए । अन्त्यमा शुभम् रन्जने (६*) र कप्तान सन्दीप लामिछाने अविजित रहँदै टोलीलाई जित दिलाए । गोर्खाजका कप्तान करण केसी, सन्तोष यादव र जेर्हरार्ड इरसमसले १–१ विकेट लिए भने साहब आलमले सर्वाधिक २ विकेट लिए पनि जितका लागि पर्याप्त भएन ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको काठमान्डु गोर्खाजले कमजोर सुरुवात गरेको थियो । निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै टोलीले केवल १३४ रनमात्र बनाउन सक्यो । काठमान्डुले पावर प्लेको पहिलो ६ ओभरमा ३ विकेट गुमाएर मात्र २२ रन जोडेको थियो । ओपनर आकाश त्रिपाठी शून्यमै आउट हुँदा रिकार्डो भास्कोनसेलोस र प्रतीक श्रेष्ठले पनि खास योगदान दिन सकेनन् । एक छेउ सम्हालेका ओपनर बेन चार्ल्सवर्थले ३३ बलमा ३२ रन जोडे ।
तल्लोक्रममा आएका आदिल अलाम अन्सारीले उत्कृष्ट ब्याटिङ गरेपछि काठमान्डुले सम्मानजनक स्कोर बनाउन सकेको थियो । उनले २५ बलको सामना गर्दै ४ चौका र २ छक्कासहित अविजित ४८ रन बनाए । अन्तिम ५ ओभरमा ६३ रन जोड्न सफल हुनुमा आदिलको महत्त्वपूर्ण योगदान रह्यो । उनले सन्तोष यादवसँग छैटौँ विकेटका लागि ४५ रनको साझेदारी गरे । विराटनगरका बलर मर्च्येन्ट डी ल्याङ्गेले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए भने कप्तान सन्दीप, रन्जने र सूर्य तामाङले १–१ विकेट लिएका थिए ।
पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्टसलाई हराएपछि काठमान्डुको यो लगातार दोस्रो हार हो ।
