सुदूरपश्चिमको शानदार सुरुवात, लुम्बिनी र चितवन भिड्दै
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको रोमाञ्चक यात्रामा सुदूरपश्चिम रोयल्सले बलियो सुरुवात गरेको छ । काठमाण्डु गोर्खाजलाई २९ रनको फराकिलो अन्तरले पराजित गर्दै सुदूरपश्चिमले प्रतियोगितामा पहिलो जित दर्ता गर्न सफल भएको हो ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १४७ रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो । सुदूरपश्चिमका लागि हर्मीत सिंहले ५३ रनको उत्कृष्ट अर्धशतकीय पारी खेल्दा कप्तान दीपेन्द्रसिंह ऐरीले ३९ रन जोडेर टोलीको स्कोर उकासेका थिए । काठमाण्डुका कप्तान करण केसीले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए पनि उनको प्रयास पर्याप्त भएन ।
जवाफमा १४८ रनको लक्ष्य पछ्याएको काठमाण्डु गोर्खाज १६ ओभर ५ बलमै ११८ रनमा अल आउट हुन पुग्यो । काठमाण्डुका लागि आकाश त्रिपाठीले सर्वाधिक ३४ रन बनाए पनि मध्यक्रममा कुनै पनि ब्याट्सम्यानले लामो साझेदारी गर्न सकेनन् । सुदूरपश्चिमका बलरहरू स्कट कुग्गेलिजन, हेमन्त धामी र हर्मीत सिंहले धारिलो प्रदर्शन गर्दै समान २–२ विकेट लिएपछि काठमाण्डुको पारी धरमराएको थियो । यस जितसँगै सुदूरपश्चिमले लिगमा महत्त्वपूर्ण २ अंक जोडेको छ ।
आज बिहीबार लुम्बिनी लायन्स र चितवन राइनोज बीच प्रतिस्पर्धा हुनेछ। चितवन राइनोजले यसअघि नै कर्णाली याक्सलाई पराजित गर्दै विजयी सुरुवात गरिसकेको छ भने लुम्बिनी लायन्सको यो सिजनको पहिलो खेल हो। यो खेल दिउँसो ४ः०० बजे सुरु हुनेछ।
