चितवनको विजयी सुरुवात, कर्णाली ४ विकेटले पराजित
काठमाडौं। रवि बोपाराको अर्धशतक र सैफ अली जैबको आक्रामक ब्याटिङको मद्दतले चितवन राइनोजले कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा विजयी सुरुवात गरेको छ।
कर्णालीले दिएको १६७ रनको लक्ष्य चितवनले १९.१ ओभरमा ६ विकेट गुमाएर १७१ रन बनाउँदै भेट्टाएको हो।
चितवनका लागि रबि बोपाराले सर्वाधिक ५१ रन बनाए भने ओपनर दीपक बोहराले ४२ रनको योगदान दिए। अन्तिमतिर सैफ अली जैबले विष्फोटक १६ बलमा ३८ रन जोड्दै टोलीलाई जित दिलाए। कर्णालीका कप्तान सोमपाल कामीले २ विकेट लिए।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १६६ रन बनाएको थियो। भारतीय खेलाडी पान्चलले ४८ बलमा ७ चौका र ६ छक्कासहित सर्वाधिक ८७ रन बनाएका थिए।
यस जितसँगै चितवनले एनपीएलमा पहिलो पटक कर्णालीलाई पराजित गर्न सफल भएको छ।
