चुनाव प्रचारमा ‘चिह्न अंकित’ कपडा र टोपी प्रयोगमा आयोगको रोक

काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारीमा जुटेको निर्वाचन आयोगले चुनावी प्रचारप्रसारलाई व्यवस्थित गर्न नयाँ आचारसंहिता लागू गरेको छ। यस आचारसंहिताले राजनीतिक दल तथा उम्मेदवारहरूलाई प्रचारका क्रममा आफ्नो चुनाव चिह्न अंकित टोपी, टिसर्ट, ज्याकेट वा अन्य सामग्रीहरू प्रयोग गर्न पूर्ण रूपमा रोक लगाएको छ।

आचारसंहिताको बुँदा नम्बर १३ मा राजनीतिक दल, उम्मेदवार, भ्रातृ सङ्गठन र सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा पालना गर्नुपर्ने आचरणसम्बन्धी कडा प्रावधानहरू छन्।

आचारसंहितामा स्पष्ट भनिएको छ: “जुलुस वा आमसभामा भाग लिने वा प्रचार प्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने।”

आयोगका अनुसार जुलुस, आमसभा वा भेला गर्दा सभ्य र अनुशासित तरिकाले गर्नुपर्नेछ। कसैको घरको आसपासमा गई निज वा निजको परिवारका सदस्यको सम्बन्धमा विरोध वा प्रदर्शन गर्न पूर्ण रूपमा निषेध गरिएको छ। स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा वा भेला गर्न पाइनेछैन।

जुलुस वा सभा गर्नुअघि स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा कम्तीमा चौबीस घण्टा अगावै जानकारी गराउनुपर्नेछ। यद्यपि, उम्मेदवारले कागजमा आफ्नो तथा राजनीतिक दलको पहिचानको विवरण खुलाईएको पर्चा वितरण गर्न भने पाउनेछन्। आयोगले निर्वाचनको स्वच्छता कायम राख्नका लागि यो आचारसंहितालाई कडा रूपमा लागू गर्ने तयारी गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *