एनपीएल उद्घाटनमा काठमाडौँ गोर्खाज र जनकपुर बोल्ट्स भिड्दै
काठमाडौँ। बहुप्रतीक्षित नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आज सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भव्यताका साथ सुरु हुँदैछ।
नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दका अनुसार प्रतियोगिताको उद्घाटन कार्यक्रम अपराह्न २ बजे हुनेछ भने उद्घाटन खेल ४ बजे सुरु हुनेछ। मङ्सिर २७ गतेसम्म चल्ने यस प्रतियोगितामा लिग चरणका खेलहरू, तीन प्लेअफ र फाइनलसहित कुल ३२ खेल खेलाइनेछ।
यस संस्करणको मुख्य आकर्षणका रूपमा त्रिवि क्रिकेट मैदानलाई प्यारापिट र फ्लड लाइटसहित स्तरोन्नति गरिएको छ। सहरी विकास मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदमार्फत तयार पारेका आवश्यक संरचना हालसालै क्यानलाई हस्तान्तरण गरेको थियो।
मैदानमा १० हजार दर्शक अट्ने क्षमताको प्यारापिट निर्माण गरिएको छ, जसले गर्दा दर्शकले सिटमै बसेर खेलको आनन्द लिन पाउनेछन्। फ्लड लाइटको व्यवस्थाले अब रातिको समयमा पनि खेल सञ्चालन गर्न सकिनेछ।
प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ। यस संस्करणमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्ससहित आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको विजेता टोलीलाई रु १ करोड १० लाख नगद पुरस्कार प्रदान गरिनेछ भने उपविजेताले रु ५१ लाख पाउनेछ। तेस्रो स्थानले रु २५ लाख र चौथो स्थानले रु १५ लाख प्राप्त गर्नेछ।
क्यानले दैनिक ९ हजार ४५० टिकट बिक्री गर्ने जनाएको छ। तर, पहिलो दिनका खेलका टिकट दुई दिनमै बिक्री भइसकेका छन्। उद्घाटन दिनका लागि साधारणतर्फ रु ५०० र प्रिमियमतर्फ रु १,५०० टिकट मूल्य तोकिएको छ। लिग चरणका अन्य दिनमा यी मूल्य क्रमशः रु ५०० र रु १,००० रहनेछन्। प्लेअफपछि सामान्य टिकट रु १,००० र प्रिमियम रु २,००० पर्नेछ, जबकि सिजनल टिकट रु १५,००० मा उपलब्ध हुनेछ।
