फागुन २१ को चुनावमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्न सुझाव
फाइल तस्बिर
काठमाडौँ। पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले आगामी फागुन २१ गते घोषणा गरिएको प्रतिनिधि सभा निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्न निर्वाचन आयोगलाई सुझाव दिएका छन्।
आयोगले सोमबार आयोजना गरेको पूर्वप्रमुख निर्वाचन आयुक्त, आयुक्त र पूर्वसचिवहरूसँगको छलफलमा सरोकारवालाहरूले यस्तो सुझाव दिएका हुन्।
छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तहरू डा. जानकीकुमारी तुलाधर, सगुन शमशेर जङ्गबहादुर राणासहित पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती, पूर्वआयुक्त दोलखबहादुर गुरुङ, पूर्वसचिव सुरेश अधिकारी लगायतको सहभागिता थियो।
छलफलमा सहभागी पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले फागुन २१ को निर्वाचनका लागि तयारी, आवश्यकता र अनुभवबारे आदानप्रदान भएको बताए। उनले आयोगलाई विद्युतीय भोटिङ मेसिन प्रयोग गर्न सुझाव दिएको जानकारी गराए। यसो गर्दा खर्चको हिसाबले पनि कम र नतिजा पनि चाँडो आउने उनको भनाइ छ।
छलफलमा पूर्वप्रमुख आयुक्त उप्रेतीले विदेशमा रहेका नेपाली नागरिकको मताधिकारको सुनिश्चितालगायतका विषयमा पनि कुराकानी भएको बताए।
उनले प्रविधिको प्रयोग गरेर मतदान गर्ने र विदेशमा बसेकाहरूलाई मतदानको व्यवस्था सुनिश्चित गर्ने सन्दर्भमा आयोगले सुझाव लिन खोजेको उल्लेख गरे।
उप्रेतीले सर्वोच्च अदालतको आदेशअनुसार कानुन बनिसकेको अवस्थामा विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन नियमावली बनाएर भए पनि प्रयास गर्नुपर्ने सुझाव दिए।
