नेपाल पुलिसले जित्यो झापा महिला गोल्डकपको उपाधि
झापा । नेपाल पुलिस क्लबले विभागीय प्रतिद्वन्द्वी एपीएफ फुटबल क्लबलाई १–० ले पराजित गर्दै एलभिडी झापा महिला गोल्डकपको उपाधि जितेको छ। शिवसताक्षीस्थित दुधे रंगशालामा सोमबार सम्पन्न फाइनल खेलमा पुलिसले यो सफलता हासिल गरेको हो।
खेलको २२ औँ मिनेटमा मिना देउवाले गरेको एक मात्र निर्णायक गोल पुलिसको जितका लागि पर्याप्त बन्यो। रेखा पौडेलको प्रहार डिफेन्डरसँग ठोक्किएर फर्किएको बललाई मिनाले सहजै जाली चुमाएकी थिइन्। त्यसपछि एपिएफले गोलका लागि पटकपटक आक्रामक प्रयास गरे पनि कप्तान अनिता बस्नेत र रश्मि घिसिङका प्रहारहरूलाई पुलिसकी गोलकिपर उषा नाथले विफल पारिन्।
उपाधिसँगै पुलिसले १० लाख १० हजार रुपैयाँ नगद, मेडल र ट्रफी प्राप्त गर्यो। उपविजेता एपीएफले भने ५ लाख रुपैयाँमा चित्त बुझायो।
पुलिसको जितमा महत्त्वपूर्ण भूमिका खेलेकी मिना देउवाले दुई ठूला व्यक्तिगत उपाधि जितिन्। उनी प्रतियोगिताभर ७ गोल गर्दै सर्वाधिक गोलकर्ता बनिन् र सर्वोत्कृष्ट खेलाडीको उपाधि पनि हात पारिन्। उनले यी दुई उपाधिबाट कुल १ लाख ७५ हजार रुपैयाँ प्राप्त गरिन्।
उत्कृष्ट प्रशिक्षकको उपाधि पुलिसका भोला सिलवालले पाउँदा उत्कृष्ट गोलकिपर पुलिसकै उषा नाथ बनिन्।
