इलामेली अगुवा इन्जिनियर मित्रलाल भट्टराईको निधन
काठमाडौँ। इलाम जिल्लाका ‘प्रथम इन्जिनियर’ मानिने नेपाल सरकारका पूर्व सिनियर डिभिजनल इन्जिनियर मित्रलाल भट्टराईको ८६ वर्षको उमेरमा निधन भएको छ।
इलाम नगरपालिका–६ (साविक ८) पिपलबोटे स्थायी घर भई काठमाडौंको गौशालामा बसोबास गर्दै आएका भट्टराईको कार्तिक २४ गते सोमबार बिहान ५ बजे काठमाडौंस्थित सिभिल अस्पताल, नयाँबानेश्वरमा उपचारको क्रममा निधन भएको हो।
दिवङ्गत भट्टराईका छोराहरू रवीन्द्रनाथ भट्टराई, भीष्म भट्टराई र ज्ञानेन्द्र भट्टराई तथा छोरीहरू राधा भट्टराई र ज्ञानु भट्टराई छन्।
इलाम विकास समाजका अध्यक्ष राधेश्याम लेकालीका अनुसार, भट्टराईको पार्थिव शरीरको आज सोमबारै काठमाडौंको पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ।
यसैबीच, भट्टराईको निधनमा उनका आफन्त तथा शुभेच्छुकहरूले दुःख व्यक्त गरेका छन्। कतिपयले उनीसँगको मित्रता र साथ रहँदाको समयलाई स्मरण पनि गरेका छन्।
यस्तै स्मरण गर्नेमध्ये देवीभक्त श्रेष्ठले आफ्नो भावना व्यक्त गर्दै लेखेका छन्:
‘अहो कस्तो दुःखद खबर। बिर्तामोड खानेपानी आयोजनामा लामो समयसम्म सँगै काम गरेका थियौँ, सादगी र भद्र स्वभावका हुनुहुन्थ्यो। कहिलेकाहीँ पुराना यादहरूले सम्झिँदै गर्दा उहाँलाई पनि सम्झिइन्थ्यो। आज कृतिशेष भएको खबरले स्तब्ध बनायो। उहाँको जीवात्माको चिर शान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल सपरिवारमा हार्दिक समवेदना प्रकट गर्दछु।’
यसैगरी, देवी क्षेत्री दुलालले लेखेका छन्ः ‘कस्तो दुःखद्। भावपूर्ण श्रद्धाञ्जली दाइ। सबै शोकाकुल परिवारलाई गहिरो समवेदना ब्यक्त गर्छु।’
