रामकुमारी झाँक्री फेरि एमालेमै
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्री आफ्नो पूर्व पार्टी नेकपा (एमाले) मा फर्कने भएकी छिन्। उनी भोलि (सोमबार) औपचारिक रूपमा एमालेमा प्रवेश गर्ने तयारीमा छिन्। एमाले प्रवेश गर्ने निश्चित भएसँगै झाँक्रीले आइतबार सामाजिक सञ्जालमार्फत आफ्ना समर्थकहरूलाई पनि एमालेको ‘घर फर्क’ अभियानमा सहभागी हुन आग्रह गरेकी छन्।
उनले लेखेकी छन्- “यो घर फर्क अभियान हाम्रो अभियान हो, हाम्रो लागि हो। हामी सँगसँगै सबै जना कम्युनिस्ट आन्दोलनको मूल प्रवाह नेकपा एमालेमा समाहित हुन घर फर्कने अभियान हो। सबै जना कमरेडहरूलाई यो कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गर्दछु।”
नेकपा एमालेले भोलि दिउँसो राष्ट्रियसभा गृहमा ‘घर फर्क राष्ट्रिय अभियान घोषणा सभा’ को आयोजना गरेको छ। झाँक्री सोही सभामा एमाले प्रवेश गर्ने कार्यक्रम रहेको छ। केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्माणमा सँगै हिँडेका सम्पूर्ण नेता-कार्यकर्ताहरूलाई पार्टीमा फर्कन सार्वजनिक रूपमा आह्वान गरेका थिए।
