झापा महिला गोल्डकप : एपीएफ र पुलिस दुवैको उपाधि जित्ने दाबी
झापा। शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि भोलि (सोमबार) दुई विभागीय टोली एपीएफ फुटबल क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन्। फाइनल खेल दिउँसो २:३० बजे सुरु हुनेछ।
आइतबार भएको प्रि-म्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले उपाधिका लागि आफ्नो टोली पूर्ण रूपमा तयार रहेको भन्दै एक-अर्कालाई चुनौती दिएका छन्। महिला फुटबलमा सर्वाधिक सफल मानिने एपीएफका प्रशिक्षक जिवेश पाण्डेले आफ्नो ऐतिहासिक कीर्तिमान कायम राख्नेमा ढुक्क देखिए।
“हाम्रो टोलीले अहिलेसम्म फाइनलमा हार व्यहोरेको छैन। यसपटक पनि हामी उपाधि रक्षा गर्नेछौँ,” पाण्डेले आत्मविश्वास व्यक्त गरे। कप्तान अनिता बस्नेतले पुलिसलाई रोकेर अर्को उपाधि झापाबाटै लिएर जाने दृढता प्रकट गरिन्।
बलियो स्क्वाड निर्माण गर्दै आएको नेपाल पुलिस क्लबका प्रशिक्षक भोला सिलवालले रेखा पौडेल र पूजा राना मगरको तालमेल नै टोलीको मुख्य शक्ति रहेको बताए। “हाम्रो टोलीमा रेखा र पूजा धेरैपछि सँगै खेलिरहेका छन्। त्यसैले यसपटक हामी एपीएफलाई हराउँदै उपाधि जित्नेछौँ,” सिलवालले भने।पुलिसकी कप्तान अमृता जैशीले विगतमा एपीएफसँग भोगेका हारको बदला झापाको मैदानमा लिने दृढता देखाइन्।
“हामीले विगतमा धेरैपटक एपीएफसँग पराजय व्यहोरेका छौँ, तर यसपटक बदला लिँदै ट्रफी लिएर जानेछौँ। झापाका दर्शकका सामु पुलिसले उत्कृष्ट खेल देखाउनेछ,” उनले भनिन्।
यो निर्णायक भिडन्त हेर्न दुधे रंगशालामा ठूलो सङ्ख्यामा फुटबलप्रेमीहरूको भीड लाग्ने अनुमान आयोजकले गरेको छ।
पुरस्कार राशि
विजेता पुरस्कार: नगद १० लाख १० हजार रुपैयाँ
उपविजेता पुरस्कार: ५ लाख रुपैयाँ
सर्वोत्कृष्ट खेलाडी: १ लाख ५० हजार रुपैयाँ
उत्कृष्ट विधाका खेलाडीहरू (गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, आदि) ले जनही २५ हजार रुपैयाँ पाउनेछन्।
