रोमाञ्चक टाइब्रेकरमा आर्मीलाई हराउँदै एपीएफ फाइनलमा
झापा। शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगितामा एपीएफ फुटबल क्लबले रोमाञ्चक जित निकाल्दै उपाधि नजिक पुगेको छ। अन्तिम सेमिफाइनल खेलमा विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले पराजित गर्दै एपीएफले फाइनलमा नेपाल पुलिस क्लबसँगको प्रतिस्पर्धा निश्चित गरेको हो।
खेलको सुरुवातदेखि नै दुवै विभागीय टोली आर्मी र एपीएफ आक्रामक खेलशैलीमा उत्रिए पनि पहिलो हाफ गोलरहित बित्यो। दोस्रो हाफको ६३ औँ मिनेटमा आर्मीकी चन्द्रा भण्डारीले सहज गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाएकी थिइन्।
खेलको निर्धारित समय सकिनै लाग्दा नाटकीय मोड आयो। इन्ज्युरी समयमा आर्मीकी विमला चौधरीले ह्यान्डबल गरेपछि एपीएफले फ्रिकिक पायो। एपीएफकी कप्तान अनिता बस्नेत ले उत्कृष्ट फ्रिकिक गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याइन्।
निर्धारित समय बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइयो। टाइब्रेकरमा एपीएफकी गोलकिपर अञ्जना राना मगर ले असाधारण प्रदर्शन गर्दै आर्मीका दुई प्रहार विफल पारिन्। एपीएफका लागि सबिता राना, अनिता बस्नेत, निशा थोकर र रश्मिकुमारी घिसिङले गोल गर्दै टोलीलाई ४-२ को जित दिलाए।
टाइब्रेकरमा उत्कृष्ट बचाउ गरेकी गोलकिपर अञ्जना राना मगर ‘प्लेयर अफ द म्याच’ घोषित भइन् र उनले १५ हजार रुपैयाँ नगद र ट्रफी प्राप्त गरिन्। अब एपीएफले उपाधिका लागि अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग कात्तिक २४ गते फाइनल खेल्नेछ। प्रतियोगिताको विजेताले नगद १० लाख १० हजार रुपैयाँ प्राप्त गर्नेछ।
