झापा महिला गोल्डकप : फाइनल प्रवेशका लागि आर्मी र एपीएफ भिड्दै
झापा । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज शनिबार विभागीय प्रतिद्वन्द्वी एपीएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच हुँदैछ। यो रोमाञ्चक भिडन्त फाइनल प्रवेशका लागि मात्र नभई, नेपाली महिला फुटबलका दुई ठूला र सफल नामबीचको प्रतिष्ठाको लडाइँ पनि बन्ने अपेक्षा गरिएको छ।
क्वार्टर फाइनल चरणमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरेका थिए। एपीएफले भारतको सिक्किम सिंग्लिङ स्पोर्टिङ क्लबलाई ७-० गोलको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा आफ्नो उत्कृष्ट लयको सङ्केत दिएको थियो। त्यस्तै, त्रिभुवन आर्मीले पनि आरएस पोखरालाई ६-० गोलले हराउँदै आफूलाई उपाधि दाबेदार टोलीका रूपमा प्रमाणित गरेको हो।
एपीएफ का प्रशिक्षक जिवेशकुमार पाण्डेले सेमिफाइनलअघि आफ्नो टोली लगातार आक्रामक खेल प्रदर्शन गर्दै आएको बताउँदै आर्मी बलियो टोली भए पनि एपीएफ को टिमको गति, पासिङ र प्रेसिङ गेमले खेल फर्काउन सक्नेमा विश्वास व्यक्त गरेका छन्।
उता, त्रिभुवन आर्मीका प्रशिक्षक चक्रबहादुर तामाङले एपीएफ सँगको खेल सदैव चुनौतीपूर्ण रहने स्वीकार गर्दै आफ्नो टिममा राम्रो संयोजन बनेको दाबी गरे। उनले खेलको गहिराइमा जान सक्ने अनुभव आर्मीसँग रहेकोले फाइनल पुग्नेमा आफू आत्मविश्वास भएको बताएका छन्।
प्रतियोगितामा हालसम्म दुवै टोलीले गोल व्योहोरेका छैन्न। यसअघि पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले संकटा एफसीलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ। आजको खेलको विजेता टोलीले उपाधिका लागि फाइनलमा पुलिस क्लबसँग भिड्नेछ। फाइनल खेल कात्तिक २४ गते हुनेछ।
प्रतियोगिताको पुरस्कार राशितर्फ विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन्। व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ प्रदान गरिनेछ भने उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी र उच्च गोलकर्तालाई २५ हजार रुपैयाँका दरले पुरस्कार दिइनेछ। हरेक खेलको प्लेयर अफ द म्याचलाई १५ हजार रुपैयाँ र ट्रफीको व्यवस्था गरिएको छ।
