झापा महिला गोल्डकप : संकटालाई हराउँदै पुलिस फाइनलमा
झापा। शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप-२०८२ अन्तर्गतको पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले शानदार जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ। शुक्रबार भएको खेलमा पुलिसले संकटा फुटबल क्लबलाई २–० गोलअन्तरले पराजित गर्यो।
खेलको सुरुवातदेखि नै दुवै टिमले कडा प्रतिस्पर्धा प्रस्तुत गरे। यो संस्करणमा पहिलो पटक कुनै पनि खेलको पहिलो हाफ गोलरहित बराबरी मा सकिएको थियो। पहिलो हाफमा संकटाकी गोलकिपर सुशीलाकुमारी चौधरीले पूजा रानाको कर्नर किकको उत्कृष्ट बचाउ गरेकी थिइन् भने संकटाले पनि भुटानी खेलाडी छिरिङ वाङग्देनको क्रसमा पूर्णिमा राईको हेडर र सेनुको सटमा अग्रता लिने मौका गुमाएको थियो।
दोस्रो हाफमा नेपाल पुलिस क्लबले आक्रामक खेल प्रस्तुत गर्दै निर्णायक अग्रता लियो। पुलिसले पाएको फ्रिकिकलाई पूजा रानाले करिब ३० यार्ड टाढाबाट डिबक्समा पठाइन्। सो सटमा मिना देउबाले सटिक हेडरमार्फत गोल गर्दै पुलिसलाई १-० को अग्रता दिलाइन्।
संकटाकी कप्तान यशोदा शाहीले बल क्लियर गर्न नसक्दाको फाइदा उठाउँदै रेखा पौडेलले उत्कृष्ट फिनिसिङ गर्दै पुलिसको अग्रता दोब्बर बनाइन्। संकटाले इन्ज्युरी समयको अन्त्यतिर सान्त्वना गोल गर्ने अवसर पाए पनि सेनुको सट गोलपोस्ट नजिकैबाट बाहिरिएको थियो।
खेलको प्लेयर अफ द म्याच पुलिसकी रेखा पौडेल भइन् । उनले नगद १५ हजार र ट्रफी पाइन् ।
२-० को जितसँगै नेपाल पुलिस क्लब उपाधि नजिक पुगेको छ भने संकटाको झापा गोल्डकप यात्रा टुङ्गिएको छ। अब पुलिसले फाइनलमा शनिबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग सामना गर्नेछ। दोस्रो सेमिफाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) र त्रिभुवन आर्मी क्लब भिड्नेछन्।
प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ। विजेता टोलीले १० लाख १० हजार रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। यसैगरी, सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ र उत्कृष्ट विधाका खेलाडीहरूलाई २५ हजार रुपैयाँका दरले पुरस्कार दिने व्यवस्था गरिएको छ।
