झापा महिला गोल्डकप : विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा
झापा। विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले एलभिडी झापा महिला गोल्डकपमा सानदार प्रदर्शन गर्दै आरएस पोखरा एफसीलाई ६-० गोलको फराकिलो अन्तरले पराजित गरेको छ। दुधे रंगशालामा बिहीबार सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा सहज जित दर्ता गर्दै आर्मीले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ।
आर्मीको जितमा विमला चौधरी ले ह्याट्रिक गर्दै उत्कृष्ट प्रदर्शन गरिन्। उनले ३३ औं, ८५ औं र इन्जुरी समयमा गरी तीन गोल गरेकी थिइन्। खेलको सुरुदेखि नै बल पोजेसनमा प्रभुत्व जमाएको आर्मीलाई १६ औं मिनेटमा डिफेन्डर विमला विकको फ्रिकिकमा जेनिफर राना मगर ले हेडिङ गोल गर्दै अग्रता दिलाएकी थिइन्। पहिलो हाफको इन्जुरी समयमा विमला विक ले कर्नर किकको बलमा शानदार फिनिसिङ गर्दै टोलीलाई ३-० को अवस्थामा पुर्याइन्।
दोस्रो हाफमा पनि आर्मीको आक्रमण जारी रह्यो। विमला चौधरीले दुई गोल थपेपछि ९० औं मिनेटमा शर्मिला थापा ले गोल गर्दै आर्मीलाई ६-० को सहज जित दिलाइन्। आर्मीका लागि विमला चौधरीले ह्याट्रिकसहित विमला विक, जेनिफर राना र शर्मिला थापा ले समान एक-एक गोल गरेका थिए। खेलमा उत्कृष्ट प्रदर्शन गरेबापत विमला चौधरी प्लेयर अफ द म्याच घोषित भइन् र उनले नगद १५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरिन्।
सेमिफाइनल समीकरण पूरा
यस जितसँगै एलभिडी झापा महिला गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ।
पहिलो सेमिफाइनल: नेपाल पुलिस क्लब – संकटा फुटबल क्लब
दोस्रो सेमिफाइनल: एपिएफ फुटबल क्लब – त्रिभुवन आर्मी फुटबल क्लब
प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ। विजेता टोलीले १० लाख १० हजार रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।
