गाँजा बोकेर हुइँकिन्छ एम्बुलेन्स

विराटनगर। मानवीय सेवा र बिरामीको जीवन रक्षाका लागि प्रयोग हुने एम्बुलेन्सलाई लागुऔषध (गाँजा) तस्करीमा प्रयोग गरिएको गम्भीर घटना बाहिरिएको छ।

मोरङको जहदा गाउँपालिका–३ बाट नेपाल रेडक्रस सोसाइटी सिरहा उपशाखा, सुखीपुर–१० दहीपौडीको एम्बुलेन्स (स १ च ६५६) बाट प्रहरीले ३३ किलो ६१० ग्राम गाँजा बरामद गरेको छ।

बुधबार राति नियमित निगरानीका क्रममा शंका लागेर जाँच गर्दा एम्बुलेन्सभित्र कालो झोलामा लुकाइएको अवस्थामा उक्त ठूलो परिमाणको लागुऔषध फेला परेको हो।

मोरङ प्रहरीका अनुसार, यस कार्यमा संलग्न एम्बुलेन्स चालक विराटनगर–५ का ३२ वर्षीय दुर्गाप्रसाद राजवंशी र एम्बुलेन्ससँगै रहेको मोटरसाइकल (को ३१ प ८८८९) का चालक जहदा गाउँपालिका–३ का ३२ वर्षीय दिलीपकुमार राजवंशीलाई पक्राउ गरिएको छ।

प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ।

कर छुटमा बिरामी ओसारपसारका लागि ल्याइएका एम्बुलेन्सलाई सम्बन्धित संस्थाहरूले आफैँ सञ्चालन नगरी व्यक्तिलाई वार्षिक रूपमा ठेक्का दिने गरेको र उनीहरूले निजी सवारी सरह चर्को भाडा असुल्ने गरेको पाइएको छ।

यसअघि पनि लागुऔषधसहित धेरै एम्बुलेन्स प्रहरी नियन्त्रणमा परिसकेकाले यो घटना एम्बुलेन्समा हुने दुरुपयोगको ठूलो जालोको एउटा सानो हिस्सा हुन सक्ने आशंका गरिएको छ।

यस घटनाले सार्वजनिक सेवाका लागि उपलब्ध गराइएका सवारीसाधनको दुरुपयोग र यसमा संलग्न ठूला गिरोहबारे गहिरो अनुसन्धानको आवश्यकता देखाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *