झापा महिला गोल्डकप : संकटा सेमिफाइनलमा

झापा। शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको बुधबारको खेलमा संकटा फुटबल क्लब, काठमाडौँले प्रभावशाली जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको छ। संकटाले घरेलु टोली झापा एफसीलाई एकतर्फी खेलमा ६-० को फराकिलो अन्तरले पराजित गर्‍यो।

खेलको सुरुदेखि नै संकटाले झापामाथि लगातार दबाब सिर्जना गरेको थियो। खेलको १३ औँ मिनेटमा राष्ट्रिय यू–२० खेलाडी सुक्रिया मियाको प्रहार तथा १५ औँ मिनेटमा अनिसा राईको फ्रिकिक र २३ औँ मिनेटमा समिक्षा मगरको लङ–रेन्ज सटलाई झापाकी गोलकिपर सुजता तामाङले विफल पारे पनि संकटाको आक्रामक खेल रोकिएन।

निरन्तर आक्रमण बुनेको संकटाले २३ औँ मिनेटमा पूर्णिमा राईको सटिक क्रसमा सेनु परियारले उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाइन्। कप्तान यशोदा शाहीले पाएको फ्रिकिकलाई सदुपयोग गर्न नसके पनि पहिलो हाफको इन्ज्युरी समयमा सुनिता भुलानको पासमा समिक्षा मगरले गोल गर्दै अग्रता २–० मा पुर्‍याइन्।

दोस्रो हाफमा संकटा अझ आक्रामक रूपमा प्रस्तुत भयो। ५५ औँ मिनेटमा भुटानकी विदेशी खेलाडी छिरिङ वांग्देनले पूर्णिमा राईको सुन्दर ब्याकहिल पासमा गोल गरिन्। ६१ औँ मिनेटमा पूर्णिमा राईले यु–२० सहकर्मी सेनु परियारको पासमा गोल गर्दै अन्तर ४–० बनाइन्।

त्यस्तै, ८३ औँ मिनेटमा पूर्णिमा राईले रेनिसा शर्माको क्रसमा व्यक्तिगत दोस्रो गोल थपिन्। नियमित समयको अन्तिम मिनेटमा वैकल्पिक खेलाडी अरुणा स्याङतेनले मैदान प्रवेश गरेको केही बेरमै गोल गर्दै संकटाको जितलाई ६–० ले सुनिश्चित गरिन्।

खेलमा उत्कृष्ट प्रदर्शन गरेकी संकटाकी पूर्णिमा राई ‘प्लेयर अफ द म्याच’ घोषित भइन्। उनले नगद १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरिन्।

खेलपछि झापाका प्रशिक्षक सन्देश श्रेष्ठले पर्याप्त तयारी अभावका कारण टोलीले अपेक्षित प्रदर्शन गर्न नसकेको स्वीकार गरे। उता, संकटा क्लबका प्रशिक्षक रविन्द्र शिलाकारले टोलीले रणनीतिअनुसार खेल्दै सहज जित निकाल्न सफल भएकोमा खुसी व्यक्त गरे।

प्रतियोगिताअन्तर्गत बिहीबारको अन्तिम क्वार्टर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी र आरएस पोखरा एफसीबीच खेल हुँदैछ।

प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ। विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ प्रदान गरिनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *