इतिहास रच्दै भारतले जित्यो महिला विश्वकप उपाधि
तस्बिर: इन्डियन क्रिकेट टिम
काठमाडौँ । भारतले दक्षिण अफ्रिकालाई ५२ रनले हराउँदै पहिलो पटक महिला एकदिवसीय विश्वकपको उपाधि जितेको छ। सेफाली वर्मा र दीप्ति शर्माले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेपछि भारतले आइतबार राति यो ऐतिहासिक सफलता प्राप्त गरेको हो।
मुम्बईको डीवाई पाटिल स्टेडियममा वर्षाका कारण केही ढिला सुरु भएको फाइनल खेलमा, पहिले ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ७ विकेट गुमाएर २९८ रनको चुनौतीपूर्ण स्कोर खडा गरेको थियो।
भारतको जितमा सेफाली वर्माले सर्वाधिक ८७ रनको महत्त्वपूर्ण योगदान दिइन्। यस्तै, दीप्ति शर्माले ब्याटबाट ५८ रन जोडिन् र त्यसपछि आफ्नो जादुयी बलिङमार्फत ५ विकेट लिँदै दक्षिण अफ्रिकालाई २ सय ४६ रनमा अलआउट गर्न मुख्य भूमिका खेलिन्।
दक्षिण अफ्रिकाका लागि कप्तान लउरा वल्भार्डले आकर्षक १०१ रन बनाए पनि उनको प्रयास पर्याप्त भएन। वल्भार्ड आउट भएसँगै ४५ हजार भारतीय समर्थकमा खुसीयाली छाएको थियो। दीप्तिले नादिन डे क्लर्कको अन्तिम विकेट लिँदै भारतको जित सुनिश्चित गरिन्।
सन् २००५ र २०१७ मा उपविजेता बनेको भारतले यसपटक महिलाको एकदिवसीय विश्वकप च्याम्पियन बनेर आफ्नो लामो सपना पूरा गरेको छ।
