मौसम बिग्रिएपछि हवाई उडान प्रभावित
फाइल तस्बिर
काठमाडौँ। देशका धेरैजसो भागमा मौसम बिग्रिएका कारण हवाई उडान सेवा प्रभावित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानमा समस्या देखिएको छ।
मौसममा खराबी आएकाले आज (बिहीबार) केही उडानहरू ‘डाइभर्ट’ भएका छन्।भरतपुर र तुम्लिङटार विमानस्थलको उडान सेवा पूर्ण रूपमा बन्द गरिएको छ।
पोखरा विमानस्थलमा जहाज आगमन बन्द छ भने उडान मात्रै खुला छ।काठमाडौँका लागि उडेका श्री एयरलाइन्सका जहाजहरू विराटनगर र भैरहवामै फर्काइएको छ।
नेपाल एयरलाइन्स र इण्डिगो एयरका विमानहरू नयाँदिल्ली डाइभर्ट भएका छन्। एयर इण्डियाको विमान लखनऊ डाइभर्ट भएको छ। विमानस्थलको ‘भिजिबिलिटी’ अहिले २,५०० मिटर रहेको प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए।
जल तथा मौसम विज्ञान विभागका अनुसार हवाई उडान प्रभावित हुनुको मुख्य कारण हाल विकसित भएको मौसमी प्रणाली हो। बङ्गालको खाडीमा विकसित ‘मोन्था’ चक्रवात कात्तिक ११ गते राति भारतको आन्ध्र प्रदेशमा प्रवेश गरेको थियो।
उक्त प्रणाली अहिले कमजोर भएर न्यून चापीय क्षेत्रका रूपमा नेपालको मध्य भू-भाग नजिक आइपुगेको छ र पूर्वतर्फ सरिरहेको छ। आज (बिहीबार) देखि कात्तिक १५ गतेसम्म (शनिबारसम्म) नेपालको बागमती, मधेस र कोशी प्रदेशको मौसम प्रभावित हुनेछ।
मधेस र कोशी प्रदेशका धेरैजसो ठाउँमा मध्यम वर्षा हुनेछ। बागमती प्रदेशका केही ठाउँमा पनि मध्यम वर्षाको सम्भावना छ। यी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने सम्भावना भएकाले महाशाखाले सबैलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
