‘मोन्था’ चक्रवातको असर : वर्षा र हिमपात

काठमाडौँ। नेपालमा अहिले पश्चिमी वायु, अरब सागरको न्यून चापीय प्रणाली र बङ्गालको खाडीमा विकसित ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिहान देशभर सामान्यतया बदली रहेको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षासहित हिमपात भइरहेको छ। बाँकी प्रदेशका एकदुई ठाउँमा हल्का वर्षासहित हिमपात भइरहेको छ।

दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत पहाडी भूभागमा बादल लाग्नेछ भने तराईमा सामान्य बदली रहनेछ। कोशी, मधेस र बागमती प्रदेशका धेरै ठाउँमा, गण्डकी, लुम्बिनीका पहाडी तथा हिमाली क्षेत्रमा मध्यम वर्षाको सम्भावना छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा हुन सक्छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना छ।

आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित पहाडी भूभागमा प्रायः बदली रहनेछ। कोशी, मधेस र बागमती प्रदेशका अधिकांश स्थानमा, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका धेरै ठाउँमा मध्यम हिमपातको सम्भावना छ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली भेगमा भारी हिमपात र कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

मौसममा आएको परिवर्तनले दैनिक जनजीवन, यात्रा र कृषि क्षेत्रमा असर पार्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *