विराटनगरबाट काठमाडौँ जाँदै गरेको कार खस्दा १ जनाको मृत्यु

विराटनगर। बीपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका-६, चैनपुरमा मंगलबार कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी एकै परिवारका दुई जना सदस्य घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार विराटनगरबाट काठमाडौँ जाँदै गरेको बा ७ च ७५५४ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब ४२ फिट तल खसेको थियो।

दुर्घटनामा कार चालक विराटनगर उपमहानगरपालिका-१७ का ६५ वर्षीय ओमबहादुर अर्जेलको मृत्यु भएको छ। दुर्घटनापछि घाइते अवस्थामा उद्धार गरी उपचारका लागि आत्मीय सामुदायिक अस्पताल खाल्टे पुर्‍याइए पनि उनको ज्यान गएको प्रनाउ सुवेदीले जानकारी दिए।

घाइते हुनेहरूमा ओमबहादुरकी श्रीमती ४९ वर्षीया सुनिता अर्जेल र छोरा ३१ वर्षीय निशान्त अर्जेल छन्। सुनिताको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

निशान्त अर्जेलको आत्मीय सामुदायिक अस्पताल खाल्टेमा प्राथमिक उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ। दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *