झापा महिला गोल्डकप : उद्घाटनमा पुलिस र चर्च ब्वाइज भिड्ने
बिर्तामोड। ‘एलभिडी प्रथम झापा महिला गोल्डकप २०८२’ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। कात्तिक १५ गतेदेखि शिवसताक्षीस्थित दुधे रङ्गशालामा सुरु हुने यस प्रतियोगिताका लागि आयोजक झापा महिला गोल्डकपले आज सोमबार सम्पूर्ण तालिका सार्वजनिक गरेको हो।
आयोजक सचिवालय प्रमुख हिमाल खरेलका अनुसार प्रतियोगिताको उद्घाटन खेल कात्तिक १५ गते नेपाल पुलिस क्लबको महिला टिम र चर्च ब्वाइज युनाइटेडको महिला टिमबीच हुनेछ।
प्रतियोगिताको दोस्रो खेल कात्तिक १६ गते नेपाल एपिएफ फुटबल क्लबले भारत सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबविरुद्ध खेल्नेछ। त्यस्तै, तेस्रो खेल कात्तिक १७ गते संकटा फुटबल क्लब र झापा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। चौथो तथा अन्तिम क्वाटरफाइनल खेल कात्तिक १८ गते त्रिभुवन आर्मी फुटबल क्लब र आरएस पोखरा फुटबल क्लबबीच हुनेछ।
पहिलो सेमिफाइनल खेल कात्तिक १९ गते हुनेछ भने अन्तिम सेमिफाइनल खेल कात्तिक २० गतेका लागि तय गरिएको छ। गोल्डकपको फाइनल खेल भने कात्तिक २२ गते हुने आयोजकले जनाएको छ।
आठ टिमको सहभागिता र आकर्षक पुरस्कार
सचिवालय प्रमुख खरेलका अनुसार प्रतियोगितामा नेपालका तीन विभागीय टिम— त्रिभुवन आर्मी, नेपाल एपिएफ र नेपाल पुलिस क्लबका महिला टिमको सहभागिता रहने टुङ्गो लागेको छ। उनीहरूका साथै संकटा फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, झापा फुटबल क्लब र आरएस पोखरा फुटबल क्लब तथा भारत सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबले पनि उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको विजेता टिमले नगद १० लाख १० हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछन्। सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख ५० हजार रुपैयाँ प्रदान गरिने गोल्डकपका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए।
त्यस्तै, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्तालाई जनही २५ हजार रुपैयाँ पुरस्कार दिइनेछ। प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ।
प्रतियोगिताका लागि दर्शक व्यवस्थापनको काम पनि अन्तिम चरणमा पुगेको छ। तीन हजार दर्शक क्षमताको पक्की स्थायी प्यारापिटमा कुर्सी जडानको काम सकिएको छ भने १० हजार दर्शक क्षमताको बाँसको अस्थायी प्यारापिट पनि तयार पारिएको छ। आयोजकले यो गोल्डकपलाई महिला फुटबललाई सुदृढ बनाउने अभियानका रूपमा लिएको जनाएको छ।
