दुई सातादेखि बेपत्ता बालिकाको शव बीभत्स अवस्थामा फेला

विराटनगर । मोरङको लेटाङमा करिब दुई साताअघि बेपत्ता भएकी एक बालिकाको शव बीभत्स र डरलाग्दो अवस्थामा फेला परेको छ ।

लेटाङ नगरपालिका–२, स्कुल चोककी १३ वर्षीया अंशु गौतम शुक्रबार दिउँसो लेटाङ–२ र बेलबारीको सिमानामा पर्ने बेलबारी–चिसाङ साझेदारी वन भित्र मृत अवस्थामा भेटिएकी हुन् । अंशु लेटाङको लक्ष्मी माध्यमिक विद्यालयको कक्षा ५ मा अध्ययनरत थिइन् ।

मोरङ प्रहरी प्रमुख एसपी कविता कटवालका अनुसार अंशुको शव टाउको र शरीर छुट्टिएको तथा सडेर दुर्गन्धित अवस्थामा फेला परेको छ । घाँस काट्न गएका स्थानीयले शव देखेपछि दिउँसो १:३० बजेतिर प्रहरीलाई खबर गरेका थिए ।

बालिका अंशु असोज २१ गते दिउँसो ४ः३० बजेतिर घरबाटै बेपत्ता भएकी थिइन् । अभिभावकले उनको खोजीका लागि प्रहरीमा आग्रह गरेका थिए । दुई साता लामो खोजीपछि उनको शव जंगलमा भेटिएको हो ।

एसपी कटवालले घटनास्थल वरिपरि अंशुले लगाएको ट्राउजर र हाफपाइन्ट फुकालिएको अवस्थामा भेटिएको जानकारी दिए । कपडा शव नजिकै फेला परेकाले प्रहरीले बलात्कारपछि हत्या गरिएको हुनसक्ने आशंका गरेको छ ।

प्रारम्भिक अनुसन्धानबाट यौनजन्य अपराध हो वा जंगली जनावरको आक्रमण भन्ने यकिन गर्न नसकिए पनि घटनास्थलको प्रकृतिले घटना शंकास्पद देखिएको प्रहरीको भनाइ छ ।

प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर प्रमाण संकलन गरिरहेको छ । शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

एसपी कटवालका अनुसार, पोस्टमार्टम रिपोर्ट र फरेन्सिक अध्ययनपछि मृत्युको वास्तविक कारण स्पष्ट हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *