जेनजी आन्दोलनका घाइतेलाई सरकारको सहयोग

काठमाडौँ। जेनजी आन्दोलनमा घाइते भएकाहरूलाई सरकारले आर्थिक सहयोगस्वरुप ४८ लाख ५८ हजार रुपैयाँ निकासा गरेको छ। घाइतेहरुको भैपरी खर्चबापत भनेर सरकारले उक्त रकम निकासा गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रारम्भिक प्रतिवेदनका आधारमा प्रत्येक घाइतेलाई २० हजार रुपैयाँका दरले वितरण गर्न रकम पठाइएको प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले जनाएको छ।

पहिलो चरणमा झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, कास्की, सुर्खेत, कैलाली र डडेलधुरामा रकम पठाइसकिएको जनाइएको छ।

घाइते भएका व्यक्तिहरूलाई वर्गीकरणका आधारमा उचित राहतको व्यवस्था गर्ने गरी तत्कालका लागि भैपरी खर्चवापत रकम उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ हजार ४२९ जना घाइतेको विवरण गृह मन्त्रालयमा उपलब्ध गराएको छ। भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूको पहिचान एवं सहज र प्रभावकारी उपचारको व्यवस्थाका लागि परिचयपत्र वितरण पनि गरेको छ।

गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा २ हजार ८७६ परिचयपत्र पठाएको छ। ३८ वटा परिचयपत्र अस्पतालवाट वितरण गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *