तिहारको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना
यस वर्षको तिहारमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि पश्चिमी वायुको सामान्य प्रभाव रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले शनिबार जारी गरेको बुलेटिनअनुसार पश्चिमी वायुको सामान्य प्रभावले गर्दा देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली हुन सक्ने सम्भावना छ।
पहाडी भू–भागका एक-दुई स्थानमा फाटफुट वर्षा तथा उच्च हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले तिहारका विभिन्न दिनहरूका लागि जारी गरेको मौसमी पूर्वानुमान-
१. लक्ष्मी पूजाको दिन : देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक-दुई स्थानमा फाटफुट वर्षाको सम्भावना छ।
२. कात्तिक ४ गते (गाई पूजा/नेपाल संवत्) : पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी ठाउँमा मौसम सफा रहने महाशाखाले जनाएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुट वर्षाको सम्भावना कायमै रहनेछ।
३. गोवर्धन पूजाको दिन : देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ। कोशी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ।
४. भाइटीकाको दिन : कोशी र मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। सबै प्रदेशका पहाडी भू–भागका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू–भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको समेत सम्भावना छ।
