भयरहित र निष्पक्ष चुनावका लागि राष्ट्रपतिको निर्देशन

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातावरणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष निर्वाचन हुन्छ भन्ने विश्वास राजनीतिक दल र आम नागरिकलाई दिलाउन सरकार र सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्।

राष्ट्रपति भवन शितल निवासमा शनिबार अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरू र चारै सुरक्षा निकायका प्रमुखहरूबीच भएको छलफलमा पौडेलले यस्तो निर्देशन दिएका हुन्।

राष्ट्रपति पौडेलले शान्ति सुरक्षा कायम गर्न र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायहरूले ‘बोल्ड्ली’ (आँटिलो रूपमा) प्रस्तुत हुन निर्देशन दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

उनले भदौ २४ गते लुटिएका हतियार र भागेका कैदीबन्दीहरू सबैलाई अबिलम्ब फिर्ता गर्न पनि आग्रह गरे।

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउन सरकारले कुनै कसुर बाँकी नराख्ने बताइन्। उनले पूर्ण तयारीका साथ लाग्न र सुरक्षा निकायलाई चाहिने सम्पूर्ण साधन स्रोत सरकारले उपलब्ध गराउने पनि बताइन्।

सुरक्षा निकायका प्रमुखहरूले शान्ति सुरक्षा कायम गर्ने र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन आफूहरू सक्षम रहेको राष्ट्रपति पौडेललाई विश्वास दिलाएका थिए। उनीहरूले योभन्दा कठिन परिस्थितिमा पनि विगतमा शान्तिपूर्वक निर्वाचन सम्पन्न गराएको स्मरण गराउँदै सुरक्षा निकाय निर्वाचनका लागि पूर्ण रूपले तयार रहेको बताएका थिए।

छलफलमा प्रधानमन्त्री कार्की, अर्थमन्त्रीबाहेक सबै मन्त्रीहरूका साथै प्रधानसेनापति अशोक सिग्देल, प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीको सहभागिता थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *